पाल्पा, मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीहरुलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । जिल्लाका १० वटै पालिकामा खटिने कर्मचारीलाई तालिम प्रदान गरेर केन्द्रमा पठाउने तयारी भएको हो ।
जिल्लाको ११८ मतदान स्थलका २४१ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई निर्वाचन प्रशिक्षण तथा तालिम प्रदान गरी मतदानस्थानमा खटाउने तयारीमा जुटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो । उनीहरुलाई नमुना मतदानमा सहभागी समेत गराईको छ । क्षेत्र नं. १ का २३४ र क्षेत्र नं. २ का २६८ जना अधिकृतलाई तालिम दिएपछि सम्बन्धित मतदान स्थलमा खटाउने तयारी भएको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले बताए । मतदान अधिकृतहरुलाई मतदान अघि, मतदानको दिन र मतदान सकिएपछि गर्नुपर्ने सबै किसिमका कामहरु जिम्मेवारी पुर्वक सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य निर्देशन दिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले स्वच्छ, निष्पक्ष र विश्वसनिय भयरहित निर्वाचनको लागि ढुक्क भएर मतदान स्थलमा खटिन, सुरक्षाकर्मीसँग आवश्यक समन्वय र सहकार्य गरेर काम गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई अनुरोध गरे । मतदानस्थलमा पुगी सकेपछि स्वच्छ निष्पक्ष भयरहित निर्वाचनका लागि गर्नुपर्ने काम जिम्मेवार, आवश्यक समन्वय सहकार्य, कानुनी कुराहरुको बारेमा सैद्धान्तिक जानकारीसँगै मतदानस्थल निर्माण देखी मतदान कार्य सम्मको व्यबहारिक ज्ञान प्राप्त गरिएको तालिममा सहभागी मतदान अधिकृत भरत आचार्यले बताए । मतदान कार्यको लागि जिम्मेवारी पाएका सबैले संविधान, कानुन अनुसार स–सानो कुरामा ध्यान दिएर, आएका विवाद कानुन अनुरुप, तत्काल समाधान गरी सबैपक्षलाई मान्य हुने गरी काम गर्न मतदान अधिकृतहरुलाई निर्वाचन कार्यालय पाल्पााले अनुरोध गरेको छ ।
फागुन १८ गते मतदान स्थलमा खटिएदेखी मतगणना सम्पन्न नहुँदासम्मको अवस्थामा गर्नुपर्ने सम्पूर्ण कामको विषयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जानकारी प्रशिक्षण गरिएको निर्वाचन कार्यालय पाल्पाका प्रमुख महेश शर्माले बताए । सम्म प्रशिक्षण पाएका पाल्पाका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मीहरु फागुन १८ गते सम्म मतपत्र सहित आवश्यक सरसमान बुझेर सम्बन्धित मतदानस्थमा पुगी सक्नुपर्ने छ । पाल्पाको निर्वाचन क्षेत्र नं. १ मा ५२ वटा मतदान स्थलमा ११७ वटा मतदान केन्द्र रहेका छन् । जसमा ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् । क्षेत्र नं. २ मा ६६ वटा मतदान स्थलको १३४ वटा मतदान केन्द्रमा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् । यहाँँ निर्वाचनको लागि विभिन्न किसिमका तयारी पूरा भएसँगै अब सबैको ध्यान फागुन २१ को मतदानतर्फ सोझिएको छ । पाल्पामा दुई सिटको लागि क्षेत्र नं. १ मा १४ जना र क्षेत्र नं. २ मा १६ जना उम्मेदवारहरु प्रतिष्पर्धामा छन् । जिल्लामा २९ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जसमध्ये क्षेत्र न.ं १ मा २० वटा र क्षेत्र नं. २ मा ९ वटा मतदानस्थल रहेका छन् । क्षेत्र नं. १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्य रहेका छन् । क्षेत्र नं. २ मा संवेदनशील २६ र सामान्य ३१ वटा रहेका छन् । जिल्लाको निस्दी, माथागढी, रैनादेवीछहरा,तिनाउ, रामपुरलगायतका स्थानमा रहेका अधिकांश मतदान केन्द्र संवेदनशील रहेका छन् । नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशिल रहेको सुरक्षा समितिले जनाएको छ ।


