Shittalpati
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह

पाल्पा, प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् । शुक्रबार  पाल्पाको तानसेनमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पा शाखाको संयोजनमा भएको ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

लामिछानेले प्रेस काउन्सिको काम, पत्रकारिता आचारसंहिता र निर्वाचनका बेला पालना गर्नुपर्ने कुराहरुको बारेमा प्रस्तुतिकरण राख्दै निर्वाचन आचारसंहिता केवल कानुनी बन्धन मात्र नभई पत्रकारको नैतिक जिम्मेवारी समेत भएको उल्लेख गरे । उनले भने “प्रेसको दुरुपयोग जति बढ्छ उती नै यस क्षेत्रले जनविश्वास गुमाउँदै जान्छ, उनले भने–यस कारण पनि जिम्मेवार पत्रकारिता गर्नु जरुरी छ ।” मिडिया आफैमा एउटा सशक्त माध्यम भएको भन्दै उनले हाल नयाँ प्रविधिको भईरहेको दुरुपयोग प्रति चिन्ता व्यक्त गर्दै यसतर्फ पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । फागुन २१ को निर्वाचनमा लक्षित गरेर प्रेस काउन्सिललमा  १ सय ६० वटा आचारसंहिता उलङ्घनका घटना आएको सदस्य लामिछानेले बताए । उनले विशेषगरी मौन अवधिमा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट हुन सक्ने प्रचार–प्रसार, गलत सूचना र भ्रमपूर्ण समाचार बाट जोगिनु पत्रकारको मुख्य चुनौती रहेको समेत उल्लेख गरे ।

कार्यक्रम निर्वाचनको समयमा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने सन्तुलित भूमिका र पत्रकारिताको व्यावसायिक मर्यादाका विषयमा केन्द्रित रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं पाल्पाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले जिल्लामा निर्वाचनको माहोल उत्साहजनक रहेको र आचारसंहिता पालनामा सबै पक्ष सचेत देखिएको बताए । मुख्य निर्वाचन अधिकृत उपाध्यायले  जिल्लाभरबाट हालसम्म जम्मा एक वटा लिखित र २५ वटा मौखिक उजुरी मात्र प्राप्त भएको जानकारी दिए । हामीले प्राप्त मौखिक उजुरीहरूलाई तत्कालै प्रचलित निर्वाचन कानुन र निर्देशिका बमोजिम सचेत गराएर समाधान गरेको उनले बताए । पाल्पाका मिडिया हाउसहरूले देखाएको जिम्मेवारीपन प्रशंसनीय रहेको,  पाल्पाली पत्रकारहरूबाट निर्वाचन प्रक्रियालाई सहयोग पुग्ने गरी सूचना प्रवाह भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए । प्रमुख जिल्ला अधिकारी बिनु  बज्राचार्य कुवँरले  निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन प्रशासन कटिबद्ध रहेको र पत्रकार र सञ्चारमाध्यमको सहयोगले काम गर्न सजिलो भएको बताईन् । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सूचनाको संवेदनशीलता बुझेर निर्वाचन सम्वन्धी समाचार तथा गतिविधी संकलन गर्न प्रजिअ कुवँरले पत्रकारहरूलाई आग्रह गरिन् । काउन्सिलका सदस्य भिमलाल श्रेष्ठले काउन्सिलले देशभर नै  मिडिया आचारसंहिता अनुगमनलाई तीव्र पारेको  बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचार संहिता अनुगमन अधिकृत ऋषिराम सुवेदीले जिल्लामा आएका लिखित मौखिक उजुरीलाई कानुन अनुसार कारवाही गरिएको, केहीलाई सचेत गराईएको, जानकारी दिए । केही जनप्रतिनिधीहरु दलको प्रचार–प्रसारमा सहभागी भएको भन्ने मौखिम उजुरीमा पुनः १० वटै पालिकाका प्रमुख, उप प्रमुख, वडा अध्यक्षदेखी कार्यपालिका सदस्यसम्मलाई सचेत गराइएको  उनको भनाई छ । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लामा पत्रपत्रिका, अनललाई रेडियो र टेलिभिजन गरी ४० वटा मिडिया सञ्चालनमा रहेको र करिव १ सय जना पत्रकारहरु क्रियाशिल रहेकोमा कहि कतैबाट पनि मिडिया आचारसंहिता विपरित कार्य नभएको बताए । पाल्पामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउन मिडियाले सहयोग गरिरहेको उनको भनाई छ । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले प्रेस काउन्सिलको भुमिका, जिम्मेवारी, मोफसलका मिडियाले निर्वाचन सफल बनाउन खेलेको भूमिका, निर्वाचनका बेला समाचार संकलनका क्रममा भोग्नुपरेका व्यावहारिक कठिनाइ र सुरक्षाका विषयमा जिज्ञासा राखेका थिए । सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्दै आइएको काउन्सिलका उपप्रशासकिय अधिकृत  तथा प्रशासन शाखा प्रमुख रहमतुल्ला मियाँले बताए । प्रेसकाउन्सिलका सदस्य एवं लुम्बिनी प्रदेश आचारसंहिता अनुगमन संयोजक विजयराज अधिकारीको अध्यक्षता,नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update