गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ । प्रशासनले सानो समूहमा मनाउन पनि आग्रह गरेको छ । फागुपूर्णिमाको अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि तथा सो पर्वका कारण निर्वाचन सुरक्षामा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो आग्रह गरेको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा होली पर्वलाई यसको सांस्कृतिक महत्व संरक्षण हुने गरी पारिवारिक तथा सानो समूहमा मर्यादित ढंगले मनाउन आग्रह गरिएको छ । ठूलो जमघटका कार्यक्रम नगर्न, जबरजस्ती रूपमा कसैलाई रंग नलगाउन, दुर्गन्धित पानी तथा अन्य निषेधित वस्तुको प्रयोग नगर्न तथा सामाजिक, सांस्कृतिक एवं राजनीतिक सद्भाव विथोल्ने किसिमका गतिविधि सञ्चालन नगर्न सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ । त्यस्तै, होली पर्वका समयमा सद्भाव खलबलिन नदिने गरी निर्वाचन प्रचार–प्रसारका कार्यक्रम नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई समेत आग्रह गरिएको सूचनामा उल्लेख छ ।


