पाल्पा,पाल्पासहित देशैभरका मगर समुदायले आज ४४ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।
मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ । आज जिल्लाको तानसेन, रामपुर, माथागढी, तिनाउ, निस्दी, बगनासकाली लगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । दिवसका अवसरमा यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला, माथागढी, तिनाउ, बगनासकाली, रैनादेवी छहरा र रम्भा, रिब्दीकोट गाउँपालिकाले सार्वजनिक विदा दिएका हुन् ।
मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास छ । विसं २०३९ फागुन १५ गते नेपाल लाङ्घली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घ संस्थाले मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । पाल्पामा मगरी कला, संस्कृति निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदाय रमाउने गरेका छन् । पाल्पाका सबै स्थानीयतहदेखि वडा–वडा टोल–टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागिएको नेपाल मगर सङ्घ पाल्पाले जनाएको छ ।

