
पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले सातौं गाउँसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारी र एक जना उपभोक्ता समितिका अध्यक्षसहित ८ जनालाई एकै साथ सम्मान हो । सम्मानित कर्मचारीलाई सम्मान पत्र, दोसल्ला र नगद दश हजारले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, लेखा शाखा प्रमुख कोशलराज पौडेल, वडा कार्यालयको तर्फबाट वडा ८ का वडा सचिव नारायण आचार्य, गाउँपालिकाका कम्प्युटर अपरेटर हेमराज घिमिरे, वडा नं. ७ का कार्यालय सहायक गोपालबहादुर सोमरे, हलुका सवारी चालक गणेश कुँवर, कार्यालय सहयोगी मेघराज तिमिल्सिनालाई सम्मान गरिएको थियो ।
यस्तै गरी उपभोक्ता समितिको तर्फबाट आ.व. २०७६/७७ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै वडा नं. १ को भुयरस्थानदेखि सिद्धार्थ राजमार्ग जाने मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर चिदीलाई पनि सम्मान गरिएको प्रमुश प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार गाउँपालिकाले प्रत्येक वर्ष कर्मचारीहरूको प्रोत्साहनका लागि समिति गठन सहित कर्मचारी सम्मान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । सोही अवसरमा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले कर्मचारीहरू नीति तथा कार्यक्रम कार्यान्वयनका लागि मुख्य भूमिकामा रहने भएकाले उनीहरूको उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्नु सामाजिक दायित्व र कर्तव्य रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादनमा जनप्रतिनिधिहरूसँग समन्वय गरी लाग्न आग्रह कर्मचारीलाई आग्रह गरे ।