Shittalpati
राष्ट्रिय प्रसारण लाइनमा जोडियो गुल्मी

गुल्मी, गुल्मीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौँको प्रतीक्षापछि जिल्ला अन्ततः राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो । 

नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले लगानीमा  आयोजना सफल भएको हो । उनायचौर–पौदी–बुर्तिबाङ् १३२ केभी लाइनको सफल परीक्षण भएपछि गुल्मी राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको छ । रेसुङ्गा नगरपालिका–७, उनायचौर सब स्टेसनदेखि बागलुङ बुर्तिबाङसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइन दुई दिन परीक्षण गरी सञ्चालनमा ल्याइएको हो । यस प्रसारण लाइन अन्तर्गत गुल्मीको उनायचौर र मुसिकोट नगरपालिका–१, पौदी अमराईमा गरी दुई वटा सब स्टेसन रहेका छन् । कपिलवस्तुको मोतीपुरदेखि सन्धिखर्क–तम्घास–बुर्तिबाङसम्म करिब ८६ किलोमिटर दूरीमा पाँच वटा सब स्टेसन र २ सय ४८ वटा टावर निर्माण गरिएको आयोजना प्रमुख इन्जिनियर मनोज चौधरीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४ अर्ब ७ करोड ६१ लाख ६२ हजार ७ सय ३५ रुपैयाँको लागतमा सब स्टेसन र प्रसारण लाइन विस्तार भएको छ । आयोजना सफल भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यसको अनुगमन तथा निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले राष्ट्रिय प्रसारणसँग जोडिनु जिल्लाका लागि निकै महत्वपूर्ण उपलब्धि भएको बताए । उनले विद्युत् अभावमा रोकिएका उद्योग कलकारखानामा लगानी बढाएर पहाडबाट हुने बसाइसराइ रोक्नु नै प्राधिकरणको मुख्य उद्देश्य रहेको उल्लेख गरे । यसले अवसरका ढोका खोलेकाले यसको सदुपयोग गरी आर्थिक समृद्धिका काममा लाग्न यहाँका उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई आग्रह  समेत गरे । राष्ट्रिय प्रसारण लाइनले जिल्लामा पटक–पटक विद्युत् अवरुद्ध हुने समस्याको अन्त्य हुने भन्दै जिल्लावासी उत्साहित भएका छन् । यसले जिल्लामा उद्योग, व्यवसाय र रोजगारीका नयाँ सम्भावनाको ढोका समेत खोलेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update