पाल्पा, प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आज देशभर हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । देशभरका शिवालय मन्दिरहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी यो पर्व मनाउन लागिएको हो ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने गरिन्छ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरणभएको शिवरात्रीःकालरात्री,मोहरात्री,सुखरात्रीमध्ये प्रमुख रहेको शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ । पर बÞमले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको पण्डित होमनाथ बस्यालले बताए । यसले दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जन–विश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजन कीर्तन गर्नुका साथै आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । आज देशभरका शिवालय मन्दिरहरुमा विहानैदेखि भक्तजनको घुईंचो लागेको छ । विशेषतः काठमाडौंको पशुपतिनाथ शैवमार्गी हिन्दूका लागि एकमात्र शिवलोकका रुपमा प्रसिद्ध छ ।
प्राचीन कालदेखि नै शैवधर्मको केन्द्र मानिने नेपालमा महाशिवरात्रीका अवसरमा विशेषगरी भारतबाट आउने साधुसन्तका कारण पनि पशुपतिनाथ मन्दिर परिसर निकै रमणीय बन्ने गरेको छ । यता पाल्पाका बगनासकाली, तानसेन, रिब्दीकोट, रैनादेवी छहरा, रामपुर लगायतका प्रसिद्ध शिव मन्दिरहरुमा भिड लाग्ने गर्दछ । हिन्दू संस्कृतिमा कालरात्री, सुखरात्री, मोहरात्री र शिवरात्री जस्ता चार रात्री प्रख्यात छन् । कसैले भगवान शिवको जन्म भएकाले आराधना गर्ने गरेको मान्ने गर्छन् भने कसैले शिवरात्रिको दिन भगवान शिवको पार्वतीसँग विवाह भएको विश्वास गर्छन् । यो दिन भगवान शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रुपमा धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ । भगवान शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने किंवदन्ती छ । शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकार्ने गरिन्छ । कतै–कतै भगवान शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो, घोट्टा आदिको सेवन गर्ने चलन छ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको Þदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।


