Shittalpati
आज विश्व रेडियो दिवस मनाइदैं

पाल्पा,आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१२ बाट मनाउन सुरु गरिएको यो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो । त्यसयता हरेक वर्ष रेडियो दिवस मनाउने गरिएको छ ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् । २०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथा प्रसारण सुरु भयो । अहिले भने देशका विभिन्न ठाउँमा खोलिएका रेडियोको संख्या हजारौँ पुगिसकेका छन् । पहिलो पटक सन् १९१९ को अक्टोबरमा अमेरिकामा रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ । सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ । अहिले पनि गाउँघर र दूरदराजमा रेडियो निर्विकल्प सञ्चारको माध्यम बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update