Shittalpati
इन्टरनेटमा फस्दै बालबालिका

पाल्पा, अहिले ८ वर्ष पुगेकी तानसेन–३ भगवती टोलकी मनिषा पाण्डेलाई अभिभावकले खुवाउने बेला विभिन्न किसिमका भिडियोहरु देखाउँथे । उनमा खाने बेला, पढ्नु अघि भिडियो हेर्ने बानी नै बस्यो । त्यसलाई अभिभावकले सामान्य नै ठाने । बिस्तारै उनी मोबाइलमा गेम पनि खेल्न थालिन् । त्यो देखेर अभिभावक खुसी हुन्थे । 

मनिषाको गेमप्रति लगाव बढ्दै गयो । त्यसपछि त उनी जत्तिबेला पनि मोबाइल खोज्न थालिन् । गत पुसमा ५ दिन  इन्टरनेट नआउँदा उनले धेरै रिसाहा व्यवहार देखाइन् । अनलाइन हुन नपाउँदा आमाको फोन फ्याँकेर फुटाइदिइन् । त्यसबीचमा नबोल्ने, रुने पहिले नभएका स्वभाव पनि देखाइन् । त्यसपछि झस्केका अभिभावकले छोरीलाई मनोचिकित्सकबाट उपचार गराइरहेका छन् । दुई वर्ष पहिलेसम्म पढाइमा अब्बल रहेको छोरा विस्तारै कमजोर बन्दै जाँदा गुल्मी तम्घासकी अप्सरा परियार चिन्तित छन् । तीन कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा  प्रिन्स केही समयदेखि विद्यालयबाट कोठामा फर्किएपछि झोला र ड्रेस नै नखोली मोवाइलमा व्यस्त हुुन्छन् । मोवाइल खोसिदिएपछि रुने र नास्ता समेत नखाइदिने गरेको आमा अप्सरा बताउँछिन् । उनी भन्छिन्,“पहिले–पहिले पढाई राम्रो थियो,कोभिडपछि मोवाइलबाटै पढ्ने बानि बसेपछि अहिले मोवाईल नभई हुँदैन, मोवाईलमा गेम खेल्ने र युुट्युुवमा भिडियोहरु हेर्ने गर्दा पढाईमा ध्यान दिदैनन् ।” छोरा खाली मोवाइलमा व्यस्त हुने, कुनै पनि काम नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धि स्वभावको हुने गरेको आमा अप्सराको भनाई छ । उनी भन्छिन्, “बच्चाहरू पढ्दै छन् मोबाइलमा चाहिने कुराहरू नै हेर्दै होलान् भन्यो युट्युवमा विभिन्न खालका भिडियोहरू हेर्ने, गेम खेल्ने गरेका हुन्छन्, उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने र भनेकै नै मान्दैनन् ।” कक्षा ४ मा अध्ययनरत तानसेनका उमेश खड्का निकै चुलबुले स्वभावका थिए ।

जत्तिबेला पनि साथीसँग खेल्न चाहने, साइकल कुदाउन घर बाहिर निस्किरहने उनलाई लकडाउनमा कोठामै राख्न हम्मे पर्‍यो । त्यसका लागि अभिभावकले इन्टरनेटमा भुलाउन जुक्ति निकाले । साउनमा दोस्रो चरणको लकडाउन सुरु भएपछि उनको विद्यालयले अनलाइन कक्षा सुरु गर्‍यो । त्यसपछि उनको अधिकांश समय इन्टरनेटमा बित्न थाल्यो । माघ पहिलो हप्तादेखि विद्यालय खुल्यो, तर उनी जानै मानेन् । विद्यालय जान नमान्ने, मोबाइल चलाइरहन खोज्ने, नदिँदा धेरै रिसाउने, समान फ्याँक्ने, फुटाउने गरे । त्यसपछि अभिभावकले विद्यालयसँग सम्पर्क गरेर अहिले उनलाई मनोपरामर्श दिने काम भइरहेको छ । इन्टरनेटको  पहुँचले जनजीवन सहज भए  पनि इन्टरनेटको सुरक्षित प्रयोग गर्न नसक्दा गलत सूचनाको बाढी र बालबालिका बढी समस्यामा पर्ने गरेका छन् । अभिभावकले व्यस्तता देखाउँदै भुलाउन मोबाइल वा कम्प्युटर प्रयोग गर्न दिने तर उनीहरूले के गर्दै छन् भन्ने ख्याल नगर्दा पनि बालबालिका इन्टरनेटको गलत लतमा फस्दै गएका छन् । बालबालिका तथा किशोर किशोरी इन्टरनेटमा के गरिरहेका छन् भन्नेमा अभिभावकले चासो लिने, सुरक्षित प्रयोगबारे बताउने र समस्यामा परे कानुनी उपचार खोज्ने हो भने इन्टरनेटबाट हुने असुरक्षा घट्ने जानकारहरू बताउँछन् ।


 

 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update