
पाल्पा, आदिवासी जनजाति समन्वय समिति बगनासकाली गाउँपालिकाको आयोजना र बगनाकाली गाउँपालिका कार्यालयको सहयोगमा आदिवासी जनजाति युवाहरुका लागि सञ्चालित तीन दिने आधारभूत पत्रकारिता अभिमूखीकरण तालिम भएको छ ।
तालिमको समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिका भित्रका लुकेर रहेका ऐतिहासिक तथा सामाजिक विषयहरुलाई उठान गर्न आग्रह गरे ।
अध्यक्ष बस्यालले पत्रकारिता क्षेत्र र स्थानीय सरकारको समन्वयकारी भूमिकाकै कारण बगनासकालीको विकासमा सहज भएको बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले तालिमका माध्यमबाट आर्जन गरेको सीप व्यवहारमा उतार्न आग्रह गरे । तालिममा प्रमुख प्रशिक्षक श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले आदिवासी जनजाति समुदायका आर्थिक, सामाजिक साँस्कृतिक अधिकार र उनीहरुका सवाललाई उठाउन सहभागीहरुलाई आग्रह गरे । चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा यस गाउँपालिका भित्रका आदिवासी जनजाति युवाहरु पछाडी परेकोले उनीहरुलाई पनि यो पेशामा आकर्षित गराउनका लागि यो तालिमको आयोजना गरिएको आदिवासी जनजाति समन्वय समिति बगनासकालीका संयोजक टिकाबहादुर थापाले बताए ।
तालिमकी सहभागी उर्मिला कुवरले तालिमले आफूमा मात्रै नभएर सहभागी सबै साथीहरुको नेतृत्व बिकास भएको बताइन् । उक्त तालिममा श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, गोरखापत्रका पाल्पा समाचारदाता रेखीराम राना, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, रेडियो कुटुम्बका स्टेशन म्यानेजर नारन न्यौपाने, नागरिक दैनिकका मुक्तिप्रसाद न्यौपाने, मेचीकाली दैनिकका नेत्र गैरे, पाल्पा आवाज पत्रिकाका दयाराज न्यौपाने लगायतले सहजीकरण गरेका थिए । तालिममा बगनासकाली गाउँपालिका भित्रका ९ वटा वडाका जनजाति समुदायका ३१ जना युवाहरुको सहभागिता रहेको थियो ।