
गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले सहयोग पाएकी छन् । जेठ ८ गते नवजनचेतना दैनिक, शित्तलपाटी डटकम र विभिन्न सञ्चार माध्यमहरुमा विमलालाई पीडा माथि पीडा, न बास न गाँस शिर्षकको समाचार प्रकाशित भएपछि विमलाले सहयोग पाएकी हुन् । उनलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग गरेका छन् । कोरोना भाइरस महामारी चलेको बेलामा पनि ति महिलालाई रेग्मी परिवारले सुत्नको निम्ति आवश्यक २ वटा पलङ, खाना पकाउने र खाने भाडा, शौचालय निर्माणका लागि सिमेन्ट, टिन लगायतका सामग्री सहयोग गरेका हुन् ।
उनीहरुले विमलाकै घरमा पुगेर उक्त सामग्री हस्तान्तरण गरेका छन् । सामग्री हस्तातरण गर्दै रेग्मी परिवारका भेषराज रेग्मीले तत्काल आवश्यक सामग्री माग अनुसार सहयोग गरेको बताए । उनले खाद्यान्न, लत्त कपडा सहयोग गर्ने सोचमा रहे पनि पिडित महिलालाई अन्यबाट सहयोग भइसकेको र तत्काललाई आवश्यक पर्ने सामग्री मात्र सहयोग गरेको रेग्मीले बताए । रेग्मी परिवारका श्रीमान श्रीमती घरमै पुगेर पिडित बिमलाको अवस्था बुझ्दै सहयोग सामग्री हस्तातरण गरेका थिए । ति महिलाको घर केहि दिन अघि हावाले उढाई दिएपछि स्थानीयले बस्ने बास बनाइदिएका थिए । बास बनाए पनि खाना बस्नको निम्ति समस्या रहेको थियो ।
पिडित बिमलाका श्रीमान भारतको पञ्जावमा एक वर्ष पहिले होटलमा काम गर्न भनि गएका थिए । उनि घर परिवारको सम्पर्कमा नआउदा श्रीमतीलाई परिवार चलाउनको निम्ति समस्या थपिएको छ । घरमा साना २ वटा बच्चा रहेका छन् । बस्नको निम्ति बास बनाउने ठाउँ बाहेक विमलाको अन्य जग्गा जमिन समेत छैन् । घरमा साँझ विहान चुलो बाल्न दैनिक ज्याला मजदुरी गर्नु पर्छ, तर ज्याला मजदुरी गर्न अहिले लकडाउनका कारण कसैले नबोलाउँदा उनी समस्यामा छिन् ।