पाल्पा, सरकारले प्रजातन्त्र दिवस २०८२ भव्यताका साथ मनाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले प्रजातन्त्र दिवस केन्द्रित विशेष कार्यक्रमहरु गरी दिवस मनाईने निर्णय गरेको छ । निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुंडिखेलमा गरिनेछ ।
२००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । शान्तिपूर्ण जनआन्दोलनले लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा तय गरे पनि दलहरूमा भने मर्यादित राजनीतिक संस्कारको अभाव हुँदा राजनीतिक अस्थिरत सिर्जना भएको छ ।


