पाल्पा, जिल्लाको तानसेनमा जिल्लास्तरीय अन्तर विद्यालय रनिङ शिल्ड गणित, विज्ञान हाजिरी जवाफ प्रतियोगिता भएको छ । पाल्पा आवासीय माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता भएको हो ।
विद्यालयले आफ्नो ४६ औं वार्षिकोत्सवको अवसरमा सोमबार प्रतियोगिता गरेको जनाएको छ । विद्यार्थीमा गणित र विज्ञानप्रतिको रुचि बढाउने, आत्मविश्वासी बनाउने र बौद्धिक क्षमताको अभिवृद्धि गरी नजिता सुधारमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल गोपाल पि.सी.ले जानकारी दिए । उनका अनुसार २०८१ सालदेखि प्रतियोगितालाई निरन्तरता दिर्दै आइएको हो । विद्यालयहरुले कक्षा कोठामा सिकाउँदै आए पनि अतिरिक्त क्रियाकलापमार्फत रचनात्मक ढंगले विद्यार्थीहरुले छिटो सिक्न सक्ने विश्वास लिइएको प्रिन्सिपल पि.सी.ले बताए ।
प्रतियोगितामा पहिलो लिखित राउन्ड राखिएको विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक क्षितिज नेपालले बताए । उनका अनुसार उक्त राउन्डमा प्रत्येक टिममा संलग्न २ जना सहभागी मिलेर बहुवैकल्पिक प्रश्नहरू समाधान गर्नुपथ्यो । त्यस राउन्डबाट छानिएका ६ टिमको बिचमा स्टेज अन क्विज सञ्चालन गरिएको थियो । जहाँ १४ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूले मात्र भाग लिएका शिक्षक नेपालले बताए । सम्मिलित प्रश्नहरूका लागि कक्षा ९ र १० को गणित र विज्ञानलाई मुख्य आधार मानि बनाउनुको साथै विभिन्न आइक्यु प्रश्न, दैनिक जीवनमा प्रयोग हुने विषयवस्तुलाई गणित र विज्ञानसँग सम्बन्धित गराई प्रश्नहरू प्रतियोगीलाई सोधिएको थियो ।
प्रतियोगितामा सेन कपितानियो बोर्डिङ स्कूल प्रथम, जनता मावि दोस्रो र माउन्ट भ्याली तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई शिल्ड, मेडल, पाँच हजार नगद , प्रमाण पत्र, दोस्रो हुनेलाई मेडल, ३ हजार नगद , प्रमाण पत्र र तेस्रो हुनेलाई मेडल, दुई हजार नगद , प्रमाण पत्रको व्यवस्था गरिएको विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक नेपालले बताए । त्यस्तै प्रतियोगितामा देववाणी संस्कृत तथा साधारण मावि चौथौ, सीता मावि पाँचौं र न्यूहोराइजन मावि छैठौं भएका छन् । आयोजक विद्यालयले भने प्रतियोगितालाई पारदर्शी र निष्पक्ष बनाउन आफ्ना विद्यार्थीहरुलाई सहभागी गराएको थिएन । गत वर्ष बेथल बोडिङ्ग स्कुल प्रथम भएको थियो ।
यस्तै विद्यालयले सोमबारदेखि खेलकुद सप्ताह समेत सुरु गरेको छ । ४६ वटा बेलुन उडाएर संस्थाका उपाध्यक्ष बुद्धी प्रसाद शर्मा, विद्यालयका प्रिन्सिपल गोपाल पि.सी.ले संयुक्तरुपमा सप्ताहको शुभारम्भ गरेका हुन् । विद्यालयले माघ २५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरी वार्षिक उत्सव मनाउने विद्यालयका सहायक प्राचार्य सुमन न्यौपानेले बताए । विद्यालयको प्रशासन सहायक भवानी शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।


