पाल्पा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को विस्तारित बैंठक जिल्लाको रैनादेवी छहरामा बसेको छ । नेकपा गाउँ समितिको आयोजनामा आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी बैठक बसेको हो ।
बैठकलाई नेकपाका नेता तथा पाल्पा क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले सम्बोधन गरेका हुन् । बैंठकलाई सम्बोधन गर्दै उनले अहिले नेकपाको पक्षमा जनलहर देखिएको बताए । उनले यो निर्वाचन सामान्य चुनाव नभई मुलुकको भविष्यसँग जोडिएको निर्णायक लडाइँ भएको उल्लेख गरे । नेता पाण्डेयले भने, “यो देशलाई संकटबाट मुक्त गर्न यो निर्वाचन सफल बनाउनै पर्छ । अहिलेको चुनावमा हाम्रो जित सुनिश्चित रहेको छ । त्यसका लागि कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने छ ।”
नेता पाण्डेयले अहिले देश र जनताको भावना अनुसार नेकपाको जित आवश्यक रहेको बताउँदै पाल्पाको हकमा सबै पक्षबाट देखिएको उत्साहले आफ्नो जित सुनिश्चित रहेको दावी गरे । नेकपा केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक यादव बहादुर रायमाझीले यसपटकको निर्वाचन नेकपाको पक्षमा रहेको दाबी गरे । उनले भने “यो निर्वाचन मतको लडाइँ हो। हामी सबै एकजुट भएर लाग्नुपर्छ । जनताको उत्साहले हाम्रो विजय सुनिश्चित भएको छ ।” नेकपाका नेता राजेन्द्र विश्वकर्मा र कमल रायमाझीले नेकपालाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरे ।बैठक पदम सोमैको अध्यक्षता र प्रदीप प्रसाद पोखरेलको सञ्चालनमा भएको थियो ।


