पाल्पा, नेपालको प्रजातान्त्रिक इतिहासमा चार अमर सहिदले जहानियाँ राणाशासनको अत्याचारविरुद्ध आवाज उठाएका थिए । नेपालमा अक्सर चार सहिद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीले देशमा प्रजातन्त्र ल्याउन ठूलो योगदान पु¥याएका छन् । राणाशासनको विरोध गरेको अभियोगमा शुक्रराज शास्त्रीलाई १९९५ मंसिर १३ गते पक्राउ गरी १९९७ माघ १० गते टेकु पचलीस्थित खरीको बोटमा झुन्ड्याएर मारियो ।
धर्मभक्त माथेमालाई १९९७ कात्तिक २ मा पक्राउ गरी माघ १२ गते सिफलमा बकाइनाको रुखमा झुन्ड्याइयो । दशरथ चन्द र गंगालाल श्रेष्ठलाई पनि त्यसै दिन पक्राउ गरी नरशमशेर राणाले दुवैलाई शोभा भगवतीको दुई लठ्ठामा बाँधी गोली हानेर माघ १४ गते मृत्युदण्ड दिइयो । शुक्रराज, दशरथ चन्द र धर्मभक्तलाई राजद्रोहको अभियोगमा र गंगालाललाई टुँडीखेलको खरिबोट खुलामञ्चमा राणाशासन मुर्दावाद भनी भाषण गरेको अभियोगमा पक्राउ गरी मारिएको थियो । यी चारै सहिदको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताहका समयमा उनीहरूलाई जहाँ झुन्ड्याइएको र गोली हानिएको थियो, त्यसै स्थानमा कार्यक्रम गरी स्मरण गर्ने गरिन्छ । यस वर्ष पनि सहिद सप्ताह मनाइएको छ । सहिद सप्ताह समापनको दिन आज सहिद दिवस हो । हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आएको छ । माघ १० देखि १६ गतेसम्म सहिदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै आज देशभर ‘सहिद दिवस’ मनाइँदै छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि त्यो औपचारिकतामै सिमित बन्ने गरेको छ । विगतमा सरकारी तवरबाट विविध कार्यक्रमहरु आयोजना गरी दिवसलाई औपचारिकता दिने गरिएता हिजोआज भने ति औपचारिक कार्यक्रमहरु समेत हुन छोडेका छन् । विगतमा जस्तो भव्य रुपमा औपचारिकताका कार्यक्रमहरु नहुँदा दिवसकै उपहास भएको प्रति जिल्लाका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अघिल्ला वर्षहरुमा यस दिन मुलुकभर नै विभिन्न संघ संस्थाहरुले सहिदप्रति दिप प्रज्वलन गरी दिवस मनाउने गरे पनि पछिल्ला केही वर्ष यता सामाजिक सञ्चालमा सहिदहरुको योगदानको चर्चा बाहेक सार्वजनिक रुपमा खासै औपचारिक कार्यक्रम हुन छोडेका छन् । सरकारले मनपरी सहिद घोषणा गर्नुले पनि विगतमा जस्तो दिवसले औपचारिकता पाउन नसकेको हो । देशमा प्रजातन्त्र ल्याउन जीवन उत्सर्ग गरेका सहिदलाई हरेक सरकारले गलत व्याख्या गरेर सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको छ । कवि भूपी शेरचन भन्छन्, ‘हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए’ तर, आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन्, न सहिद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरु कोही छन् ।
आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । देशका लागि हाकाहाकी ज्यान दिने गंगालाल, शुक्रराज, दशरथ र धर्मभक्तजस्ता त आज खोजेर कहाँ पाउनु ? विगतमा गणतान्त्रिक आन्दोलनमा सहिद भएका, अ·भ· भएका र घाइतेलाई समेत आज तिरष्कार गरिएको छ । राणाशासन विरुद्ध बलिदान दिने सहिदको भावनालाई सरकारले कदर गर्नु पर्ने तानसेन बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका गम्भीरजंग रायमाझीले बताए । योगदानको कदर हुन नसक्दा सहिदको उपेक्षा भएकोप्रति रायमाझीले चिन्त व्यक्त गरे । राष्ट्रमा प्रजातन्त्र ल्याउन, शिक्षाको ज्योति बाल्न आफ्नो जिउज्यानको पर्वाह नगर्ने सहिदको सोधीखोजी गरी अध्ययन अनुसन्धान गर्दै गराउँदै सरकारले उनीहरूको योगदानको उजागर गर्नुपर्ने उनको भनाई छ ।


