पाल्पा, आज ६४ औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघसंगठनले मनाउँदै छन् । वि.सं २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो ।
नर्सिङको इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्व अनि विकास धेरै भइरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापनापछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउण्डर र भारतमा तालिम लिएका केही औलामा गन्न सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वंमले गर्ने गर्दथे । नर्सिङको नेपाली इतिहास विसं २०१३ बाट सुरु भएको देखिन्छ । दिवसका अवसरमा नेपाल नर्सिङ संघले पेशागत हक, अधिकार तथा सुरक्षाको ग्यारेन्टीका लागि विभिन्न कार्यक्रम गर्दैछ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । तर नेपालमा नर्सि पेशा व्यावसायिक बन्न सकिरहेको छैन । साथै नर्सहरु न्युन बेतन तलबमा काम गरिरहेका छन् । नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर (स्वयंसेवी) का रुपमा काम गर्न बाध्य छन् ।
जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन । अहिलेको विषम परिस्थितिमा आम नागरिकलाई स्वाथ्य सेवा प्रवाह गर्न अग्रपङ्तिमा खटिने नर्सिङ क्षेत्रको आवश्यकता र महत्व बढेर गएको छ ।


