Shittalpati
पाल्पामा १७ जना कुष्ठरोगी

पाल्पा, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।

पाल्पामा पनि अझै १७ जना कुुष्ठरोगीहरु रहेका छन् । यहाँ चालु आर्थिक वर्ष २०८२÷०८३ को पुस मसान्त सम्ममा १७ जना कुष्ठरोगी रहेका हुन् । आइतबार ७३ औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले रोगको अवस्था बारे जानकारी गराउँदै अहिले रहेका १७ जना कुष्ठरोगी मध्ये १० जना पुरुष र ७ जना महिला रहेको बताए । उनीहरु सबैको उपचार भइरहेको छ । पोखरेलका अनुसार यो ६ महिनाको अवधिमा ७ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । यहाँका रामपुर नगरपालिका, निस्दी गाउँपालिकामा २/२, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिकामा १/१ जना कुुष्ठरोगी रहेको उनले बताए । ति विरामीहरुको जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ । जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा २१ जना कुष्ठरोगी थिए । जहाँ सोही अवधिमा १८ जना नयाँ विरामी थपिएका थिए । सो आर्थिक वर्ष सबै भन्दा बढी यहाँको रामपुर नगरपालिकामा देखिएका थिए । जहाँ ५ जना विरामी भेटिएको कार्यालय प्रमुख पोखरेलले बताए । उनका अनुसार पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा  गाउँपालिकामा १/१ जना, तानसेन नगरपालिकामा ३ जना, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिकामा ४/४ जना र माथागढी गाउँपालिकामा २ जना कुष्ठरोगी भेटिएका थिए । पाल्पामा कुष्ठरोगीहरुको संख्यामा केही कमी भने हुँदै गएको पोखरेलको भनाई छ । उनले भने,“पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।” अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्न उनले आग्रह गरे ।

के हो कुष्ठरोग ?
स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घरोग भएको बताए ।
यो रोगले मुख्यतः छाला, आँखा र स्नायुमा असर गर्ने उनले जानकारी गराए ।

कुष्ठरोगका लक्षण:
शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखापर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षणहरु रहेको न्यौपानेले बताए । स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् । यस्ता लक्षण देखापरेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम नियमित औषधी सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुुने र अंगभंग हुनबाट बच्न सकिने न्यौपानेको भनाई छ । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।

कसरी सर्छ कुष्ठरोग ?
कुष्ठरोग अधिकृत न्यौपानेका अनुसार शरीरिभित्र ब्याक्टेरिया छिरेपछि कसैलाई एक÷दुई वर्ष त २०–२५ वर्षसम्ममा पनि देखिन सक्छ । सर्ने माध्यम यही हो भन्ने किटान गर्न सकिन्न । तर, श्वासप्रश्वासको माध्यम र छालामा एकदमै क्लोज कन्ट्याक्ट भयो भने पनि सर्ने सम्भावना हुन्छ ।  उनले भने, “छिटो पत्ता लगाउन सक्दा अप·ता हुने सम्भावना कम हुन्छ । ढिलो भयो भने नसालाई असर गरेर पूर्ण रूपमा काम नगर्ने हुन सक्छ ।” कुष्ठरोग देखिएको ठाउँमा शरीरको अंगले चिसो–तातो थाहा नहुनेदेखि हातखुट्टा नचल्नेसम्मको समस्या आउने उनले बताए । “ढिला उपचार भयो भने कुष्ठरोग देखिएको शरीरको अंगले दुखाइ थाहा पाउँदैन, पोल्नको पनि थाहा पाउँदैन,” उनी भन्छन्, “त्यस्तो अवस्थामा आगोले पोलेर, अनि जथाभावी गर्नाले अपांग हुने सम्भावना धेरै हुन्छ ।” हरेक वर्ष कुष्ठरोगीहरु देखिएका क्षेत्रमा वा समुदायमा पुगेर सचेतनाका कार्यक्रम गर्ने, उपचार, परामर्श गर्ने र उनीहरु प्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो रोग विरुद्ध दिवस मनाउने गरिएको उनको भनाई  छ । कुष्ठ रोगको नियन्त्रणका लागि पालिका, प्रदेश र संघीय सरकारले सचेतनाका कार्यक्रमहरुलाई जोड दिनुपर्नेमा जिल्लाका पत्रकारहरुले सुझाव दिएका छन् । पाल्पामा २०७६ मा १५ जना कुुष्ठरोगीका विरामी रहेका थिए । त्यसयता २०७७ मा १३ जना, २०७८ मा १८ जना रहेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update