पाल्पा, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ पाल्पाले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । १३ औं राष्ट्रिय पुस्तक दिवस तथा बसन्त पञ्चमीको अवसरमा जिल्लाको बगनासकाली गाउँपालिका –९ चिलाङ्दीमा रहेको बसन्त प्राथमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई महासंघले स्टेशनरी सामान दिएको हो ।
महासंघले विद्यार्थीहरुलाई ३० हजार बराबरको कपी, सिसाकलम, डट्पेन, इलेजर,सापनर, स्केल लगायतका सामाग्री दिएको हो । शुक्रबार विद्यालयमै पुगी एक औपचारिक कार्यक्रमकाबिच उक्त सामान दिइएको महासंघले जनाएको छ । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी संघ लुम्बिनी प्रदेशका सह–सचिव किशोर भट्टराईले स्टेसनरी हस्तान्तरण गरेका थिए । सामान हस्तान्तरण गर्दै भट्टराईले पाल्पा शाखाले सामुदायिक विद्यालयमा आएर विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेर अनुकरणीय कार्य गरेको बताए । उनले विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे ।
सहसचिव भट्टराईले प्रत्येक बर्ष पुस्तक दिवस तथा बसन्त पञ्चमीको अवसरमा गरिब विपन्न र दुरदराजका विद्यालयमा पुगेर महासंघले स्टेशनरी सहयोग गर्दै आएको बताए । गत बर्ष छेलुङ्गको बोटे बस्तीमा रहेको राधाकृष्ण प्राविमा पुगेर सामाग्री दिइएको यनको भनाई छ । हरेक वर्ष महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा शैक्षिक सामग्र्री सहयोग गर्दै आइएको महासंघ पाल्पा शाखाका सचिव विष्णु प्रसाद खनालले बताए । विद्यालय ब्यवस्थापन समितिका सदस्य खेमराज श्रेष्ठले पुस्तक ब्यवसायी महासंघले गरेको कार्यको प्रसंसा गरे । उनले भने “महासंघले विद्यालय र विद्यार्थीप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको छ ।” आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको उनले बताए । विद्यालय व्यवस्थापन समितिका सदस्य झमानसिं रानाको अध्यक्षता, शिक्षिका राधिका पाठकको स्वागत, प्रधानाध्यापक पुष्पादेवी थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।


