Shittalpati
माघ शुक्लपञ्चमी : पाल्पामा पनि सरस्वतीको पूजा गरी मनाइयो

पाल्पा, विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरी पाल्पासहित देशैभर शुक्रबार श्रीपञ्चमी मनाइएको छ । यस दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराए । सरस्वतीको पूजा आराधना गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने भन्ने जनविश्वास रहँदै आएको छ । सोही अवसरमा पाल्पाका सरस्वती, देवी मन्दिर र विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको थियो ।

पाल्पाका  विभिन्न विद्यालयहरुमा नयाँ बालबालिकाहरुलाई सरस्वतीको पूजासँगै अक्षराम्भ गराइएको छ । तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिस बोडिङ स्कूलले नयाँ बालबालिकाहरुलाई अक्षरारम्भ गराएको छ । २ वर्षदेखि ६ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई अक्षराम्भ गराइएको विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । बालबालिकालाई कापी, पाटी र ल्याप्टपमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको थियो । स्कूलले सरस्वती पूजासहित सांस्कृतिक कार्यक्रम समेत गरेको थियो । विद्यालय परिसरमा शिक्षक, विद्यार्थी, अभिभावकसहित नागेश्वर भजन समूह बगनासकाली–३ को सहभागितामा सरस्वती पूजा, भजन किर्तन एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको स्कूलले जनाएको छ  । अक्षराम्भ कार्यक्रमसहित शैक्षिक सत्र २०८३ को लागि बाल कक्षामा भर्ना खुलाइएको प्रिन्सिपल  खत्रीले जानकारी दिए । शुक्रबार पच्चीस बालबालिका भर्ना भएका छन् । विद्यार्थीलाई उत्साह भर्न र कार्यक्रमलाई स्तरीय बनाउन सांस्कृतिक कार्यक्रमसहित सरस्वती पूजाको कार्यक्रम राखिएको विद्यालयका सह प्रधानाध्यापक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार हाल विद्यालयमा तीन सय पचाँस विद्यार्थीले अध्ययन गरिरहेका छन् ।यस्तै जिल्लाका अन्य विद्यालयहरुले समेत विद्यालय आउन सुरु गरेका साना बालबालिकालाई अक्षरारम्भ गराएको जनाएका छन् । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर यस दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको हो ।सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । सो अवसरमा विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update