पाल्पा, आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन आजकै दिनलाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।हरेक वर्ष यो दिवस मनाउने गरिए पनि नेपालमा भने शैक्षिक क्षेत्रमा सुधार आउन सकेको छैन । सरकारले पूर्वप्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षाका लागि बर्सेनि २ खर्बभन्दा बढी लगानी गर्दै आए पनि विद्यार्थीको सिकाई उपलब्धिमा खासै सुधार हुन सकेको छैन ।विद्यालय शिक्षा स्थानीय तहमातहत गएपछि नियमन र व्यवस्थापन झन् भद्रगोल बन्दै गएको छ । जसले गर्दा सरकारले शिक्षा क्षेत्रमा बर्सेनि २ खर्बभन्दा बढी लगानी गरे पनि त्यसअनुसारको उपलब्धि हासिल हुन सकिरहेको छैन । प्राविधिक शिक्षाको अवस्था पनि उस्तै छ । सीटीईभीटीअन्तर्गतका प्राविधिक शिक्षालयमा विद्यार्थी अभाव एकातिर छ भने अर्कोतिर शिक्षक अभावले गुणस्तर खस्कँदै गइरहेको छ ।
विद्यालय शिक्षामात्र होइन उच्चशिक्षाको अध्ययनअध्यापन गर्ने मुलुकका ११ वटा संघीय विश्वविद्यालय, विश्वविद्यालयसरह मान्यता पाएका सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र छ वटा प्रदेश विश्वविद्यालयमा पनि विद्यार्थीको सिकाई उपलब्धि कमजोर छ । विश्वविद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप अनि शिक्षक तथा विद्यार्थीको बारम्बारको आन्दोलनले समयमा पढाई, परीक्षा र नतिजा प्रकाशित नहुँदा धेरै विद्यार्थीहरु विदेशिका छन् । विश्वविद्यालयले दिने शिक्षाको गुणस्तर खस्किनु र बाÞय मुलुकको प्रभावका कारण नेपाली विद्यार्थी विदेशिने क्रम बढेको हो । शिक्षाक्षेत्रलाई राजनीतिबाट मुक्त राख्न र व्यवस्थापकीय पक्ष बलियो बनाउने विषयलाई भने सरकारले प्राथमिकतामा राखेको छैन । जसले गर्दा विद्यार्थीहरु विदेशिने क्रम बढेको र शिक्षा क्षेत्र झन् कमजोर बनिरहेको विज्ञहरु बताउँछन् ।


