Shittalpati
आज देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिँदै,बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै 

पाल्पा, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित वसन्तश्रवण गरी देशविदेशमा धुमधामका साथ मनाइँदैछ ।  मनाइँदै छ । आज यो यस्तो दिन हो जसप्रति बच्चादेखि वृद्धसम्मले नै उच्च श्रद्धाभाव प्रकट गरिरहेका हुन्छन् । यस दिन विशेषगरी विद्याकी अधिष्ठात्री देवीको रुपमा पुजिने सरस्वतीको पूजा–आराधना गर्ने विशेष प्रकारको विशिष्ट परम्परा रहँदै आएको छ । आज देशभरका विद्यालयहरुमा सरस्वतीलाई स्मरण गर्दै धुमधामका साथ गरिने पूजाआजासँगै विद्यार्थीहरुको एकअर्कामा रमाइलो भेटघाट गर्ने अवसरसमेत जुट्छ । हरेक विद्यालयमा सरस्वतीको मूर्ति अनिवार्यजस्तै राखिएको हुन्छ, जसले विद्यासँगको गहिरो नातालाई परिभाषित गर्नु निकै अर्थपूर्ण प्रतित हुन्छ । आजको विशेष दिनमा सरस्वती देवीलाई स्मरण गर्दै प्रार्थना गर्ने हो भने विद्या र बुद्धिमा मात्रै बढोत्तरी नभई आत्मविश्वासमा समेत उल्लेख्य वृद्धि हुने आमविश्वास छ ।

विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तिक्ष्ण हुने विश्वास छ । विशेष गरी आजको दिन स–साना बालबालिकाहरुले पहिलो पटक ‘क’, ‘ख’ लेख्न सिक्दै छन् । सरस्वती मन्दिर वा विद्यालयमा गएर बालबालिकाहरुले पूजा आराधानसँगै कखरा र एबीसीडी लेख्न सिक्ने गर्दछन् । सरस्वती पूजाका दिन पाल्पाका अधिकांस विद्यालयहरुले नयाँ बालबालिकाहरुलाई विद्यालयमा उपस्थित गराई पूजासँगै लेख्न सिकाउँदैछन् । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्रामी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शड्ढ आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ । सरस्वतीको पूजा गरे पठनसिद्धि हुने मान्यता रहँदै आएको छ । तर जानकारहरु भने सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभइ सरस्वती पूजाको दिनबाट पढाइ लगावप्रति संकल्प गर्नुपर्ने बताउँछन् ।

त्यस्तै, आजदेखि नै सूर्य उत्तरतिर लाग्ने हुनाले दिन लामो हुँदै जाने भएका कारणले यस घडीबाट वसन्त ऋतु आरम्भ भएको मानिन्छ । त्यही मान्यताकै कारणले समेत आजको दिनलाई वसन्तपञ्चमी भनिएको हो । वसन्त ऋतुलाई ऋतुहरुको राजा पनि मानिन्छ, त्यस अर्थमा पनि यस ऋतुको महत्व सर्वोपरि रहेको छ । आजबाटै हिउँदको कडा जाडो कम हुँदै जाने र ठिहि¥याउने पानीमा समेत शीतलताको आभाष हुन थाल्ने प्रक्रिया आरम्भ हुने हुनाले ऋतु परिवर्तनको महत्वका रुपमा यसलाई हेरिन्छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update