पाल्पा, ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उनको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा पछिल्लो समय कटौती गरिएकामा पुनः केही वर्ष अघिदेखि बिदा दिइएको हो । विशेष गरी आज राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभर विभिन्न कार्यक्रम गर्दै छ । विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा कार्यक्रम गर्न लागेको पार्टीले जनाएको छ ।
आजभन्दा लगभग ३ सय वर्षअघि २२ से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ । यि राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । राज्यहरूको एकीकरण र राष्ट्र निर्माणमा शाहले देखाएको बहादुरीको इतिहास धनशक्ति वा सैन्यशक्तिभन्दा इच्छाशक्ति अपराजित हुन्छ भन्ने शाश्वत सत्य–सन्देश हो । राष्ट्र निर्माण गर्दा पृथ्वीनारायण शाहले इच्छाशक्ति मात्र होइन, युक्ति र भक्ति पनि जुटाए र एउटा अदम्य साहस पैदा भयो । त्यसले सबै असम्भवलाई सम्भव बनाएको थियो । जटिलता र चुनौतीलाई अवसरमा बदल्यो । ‘आफ्नो साम्राज्यमा कहिल्यै घाम नअस्ताउन’ महाशक्ति बेलयायतसँग लडाइँमा भिड्नु सामान्य साहस थिएन । उत्तरको तत्कालीन तिब्बत र चीन पनि गोर्खाभन्दा अतुलनीय साधनसम्पन्न र शक्तिशाली थिए । तैपनि पुर्खाले हामीलाई एउटा स्वाभिमानी र स्वाधीन राज्य मात्र दिएनन्, वीरताको पर्यायवाची विश्वव्यापी पहिचान ‘गोर्खाली’ पनि दिए । भारत र बेलायती सेनामा भर्ती हुन जाने नेपालीले पाएको ‘द गोर्खाज्’ संज्ञा एवं गोर्खाल्यान्ड राज्यका लागि भारतीय आन्दोलन नेपाल एकीकरणको उत्तरदान हो ।
शाहले मुलुकमा अन्याय हुन नदिनु, सधैँ गुणको होइन नुनको पछि लाग्नु, सुरक्षा निकाय र जनताप्रति बफादार रहनु,जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो,आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ, सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु, नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ,अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, संन्यासीलाई भोजन गराउनु,खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ भन्ने जस्ता दिव्य उपदेश दिएका थिए । जुुन दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा भएको प्रष्ट हुन्छ । उनको माघ १ गते ५२ वर्षको उमेरमा निधन भएको थियो ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । १८ औं र १९ औं शताब्दीको अन्तर्राष्ट्रिय राजनीति हेर्ने हो भने पनि अहिलेका विशालयकाय विभिन्न देशहरु त्यसै समयमा एकिकृत भएका देखिन्छन् । स–साना राज्य, शाषक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन युद्वहरु त्यस बखत विश्वभरि नै भएका थिए । शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । नेपाल एकीकरण गरेकाले शाहलाई ‘राष्ट्र निर्माता’को उपमा समेत दिने गरिन्छ ।


-1762576335.jpg)