Shittalpati
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

 पाल्पा, गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । इन्डियन आइडल विजेता तामाङको ४२ वर्षको उमेरमा ह्रदयघातका  कारण आज विहान निधन भएको हो ।

ह्रदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पु र्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । उनी दिल्लीमै  थिए । निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या वा असहजता देखिएको थिएन । ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय स्तरको ख्याति हासिल गरेका थिए । सानै उमेरमा पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा थालेका थिए र प्रहरी ब्याण्ड (अर्केस्ट्रा) मा गीत गाउँथे । सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा अडिसन दिएपछि उनको जीवनले नयाँ मोड लियो । अन्ततः प्रतियोगिता जित्दै उनले भारतभरि तथा विदेशमा रहेका लाखौं दर्शक–श्रोताको मन जितेका थिए । 

उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन २’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे । त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update