Shittalpati
राष्ट्रिय योग दिवस मनाउने तयारी

पाल्पा, सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी  अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विविध कार्यक्रम गरी  दिवस मनाउने तयारी गरेको हो ।  

 मन्त्रालयले विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि दिवस मनाउन सूचित गरेको छ ।   यस  वर्ष ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ  दिवस  मनाउन लागिएको हो । दिवस मनाउन मन्त्रालयले सम्बन्धित सङ्घ संस्थालाई एक घन्टा नजिकको पायकपर्ने विद्यालयमा योग–ध्यानसम्बन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरेको छ । हरेक जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ भने राष्ट्रिय योग दिवस हरेक माघ १ गते मनाइन्छ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update