Shittalpati
अल्ट्रासाउण्डबाट गाई–भैसीको गर्भ परीक्षणले ठूलो नोक्सानीबाट जोगाउँदै

पाल्पा, अल्ट्रासाउण्डबाट गाई– भैसीको गर्भ परीक्षण हुन थालेपछि पशुपालक कृषकहरुको ठूलो आर्थिक क्षति हुनबाट जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भए पछि आर्थिक क्षति हुनबाट जोगिने गरेको हो ।

प्रविधिले ठूलो आर्थिक क्षति हुनबाट जोगाउन थालेपछि पशुपालक कृषकहरु उत्साहित भएका छन । जिल्लाको पूर्वखोला गाउँपालिकाका –३ की  कृषक उषा खनालले आउने ९ महिना अगावैको कुरा आजै थाहा पाईन । उच्च प्रविधिको कारण कृषक खनालले ९ महिना अगावैको कुरा आजै जानकारी पाएकी हुन । ९ महिना अगावै जानकारी पाउँदा उनको लाखौ रुपैया नोक्सान हुनबाट बचेको छ । नयाँ प्रविधि प्रयोगमा आएपछि यहाँका कृषकहरूलाई ठूलो आर्थिक क्षति हुनबाट जोगाएको हो । पूर्वखोला गाउँपालिकाले  हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र समाज उत्थान सहयोग पाल्पाको समन्वयमा पूर्वखोला कृषि तथा पशु विकास परियोजनामार्फत गाई –भैसीमा देखिएको प्रजनन विकृति र बाँझोपन निवारण  शिविर सञ्चालन गरेको छ । यो अभियानले पशुपालक कृषकहरुमा ठूलो उत्साह जगाएको छ । परियोजना मार्फत यहाँका  कृषकले आफ्नै  घरगोठमै आधुनिक अल्ट्रासाउन्ड प्रविधिबाट  निःशुल्क रुपमा गाई भैसीको गर्भ परीक्षण गराउने अवसर पाएका हुन । उनीहरुको  दैनिक काममा मात्र होइन, भविष्यमा आउन सक्ने जोखिम समेत पहिल्यै पहिचान गरी न्यूनीकरण गर्न सहयोग पु¥याएको भैसीपालक कृषक एवं पूर्वखोला गाउँपालिकाका–३ का वडा अध्यक्ष  कृष्ण प्रसाद भट्टराईले बताए । उनले भने “पहिले– पहिले  ९ महिना पछि मात्र थाहा हुने गाई–भैँसीको गर्भ अवस्था प्रविधिकै कारण ९ महिना अगावै पत्ता लगाउन सकिने भएपछि हामी उत्साहित भएका छौ ।” मेरो गाई भैसीको  किन समयमै राँगो लागेन, बाली खोजेन भन्ने कुरा प्रविधिको प्रयोगबाट सजिलै थाहा पाउन सकिएकाले आगामी दिनमा पशुपालन क्षेत्र अझै सहज र नोक्सान रहित हुने  कृषक मथुरा खनालले बताए । पशुको गाई भैसीमा प्रयोग गरिएको आधुनिक अल्ट्रासाउन्ड प्रविधिले पशु प्रजननमा देखिएका समस्या तथा बाँझोपन निवारण गर्न महत्वपूर्ण सहयोग गरेको छ । उक्त मेसिनबाट गर्भ अवस्था, पाठेघरको भित्री संरचना तथा सम्भावित समस्या सजिलै पत्ता लगाउन सकिन्छ । गाई–भैँसीमा पटक–पटक बाली लाग्ने तर गर्भ स्थायी रूपमा नबस्ने, एक पटक व्याएपछि लामो समयसम्म बाली नलाग्ने, समय–समयमा गर्भ खस्ने जस्ता समस्या पहिचान तथा समाधान गर्न, पशुमा हुने प्रजनन विकृति र बाझोपन निवारण शिविर सञ्चालन गरिएको परियोजना संयोजक राजकुमार आलेले बताए । पहाडी स्तरका गाउँबस्तीमा ठूलो–ठूलो  उद्योग कलकारखाना सञ्चालन गरी रोजगारी बढाउन सक्ने अवस्था छैन । बढ्दो बसाई सराई रोक्न,  गाउँबस्तीलाई हराभरा बनाउन, गाउँमै स्वरोजगार, उद्यमी बन्न, आयआर्जन बढाउन आधुनिक प्रविधिबाट कृषि र पशुपालननै रहेकोले पालिकाले ठूलो लगानीमा हेफर पोजेक्ट नेपालसँग सहकार्य गरी कृषकको माग र आवश्यकतामा आधारित कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए । पालिकाले पहिलो पटक आधुनिक प्रविधिबाट पशु गर्भपरिक्षण गरेको भएपनि आगामी दिनमा पालिकाले आफै अल्ट्रासाउण्ड मेसिन किन्ने, पशु प्राविधिकहरुलाई दक्ष बनाउने कृषकहरुलाई घरदैलो सेवा प्रदान गर्ने पालिका अध्यक्ष थापाले बताए ।  विकसित देशहरूमा दशकौँ अघिदेखि प्रयोग हुँदै आएको यो प्रविधि पाल्पाली कृषकहरूले भने हाल आएर मात्र प्रयोग गर्ने अवसर पाएका हुन् । देख्दा सामान्य जस्तो लागे पनि यदि यो प्रविधि सहज र व्यापक रूपमा प्रयोगमा ल्याउन सकियो भने कृषकहरू ठूलो आर्थिक जोखिमबाट बच्न सक्ने राष्ट्रिय पशु प्रजनन कार्यालय बाँकेका पशु विकास अधिकृत डा. मिलन कुमार चौधरीले बताए ।

हेफर प्रोजेक्ट नेपालले पाल्पाको पूर्वखोला, रिब्दीकोट र तानसेन नगरपालिकासँग मिलेर कृषि तथा पशु विकास क्षेत्रमा काम गर्दै आएको छ । कृषकको आवश्यकता र मागको आधारमा पूर्वखोला र रिब्दीकोटमा पशु प्रजनन विकृति र बाँझोपन निवारण शिविर सञ्चालन गरी कृषक तथा स्थानीय पशु प्राविधिकहरुलाई बाझोपन हुने समस्या तथा समाधानको विषयमा सैद्धान्तिक ज्ञान तथा व्यबहारिक अभ्यास गराएको हेफर इन्टरनेसनल नेपाल बुटवल पशु शाखाकी अधिकृत पशु चिकित्सक डा.अंशु प्रधानले बताईन । पहिले गाई भैसी गर्भवती भएपछि व्याउ छ की व्याउँदैन  भएन भनेर थाहा पाउन कम्तीमा ८ देखी ९ महिना समय कुर्नु पथ्र्यो । अहिले अल्ट्रासाउन्ड गरेपछि केही छिनमै थाहा पाइदो रहेछ ।  यो प्रविधीको कारण गाई भैसीमा  दाना, उपचार र समयमै व्यवस्थापन गर्न सजिलो भएको छ । गर्भ नबस्ने समस्या पहिल्यै थाहा पाएपछि अनावश्यक खर्चबाट जोगिन सकिएको  पूर्वखोलका कृषक सावित्रा अर्यालले बताईन । अल्ट्रासाउन्ड प्रविधिले पशु स्वास्थ्य सेवामा नयाँ सम्भावना थपेको छ । पहिले अनुमानकै भरमा उपचार गर्नुपथ्र्यो । अहिले पाठेघरको अवस्था प्रत्यक्ष देख्न सकिन्छ । समस्या पहिचान भएपछि सही उपचार गर्न सकिने भएकाले कृषकको आर्थिक जोखिम कम हुने शिविरमा सहभागी पूर्वखोला गाउँपालिकाका पशु प्राविधिक हुम बहादुर झेडीले बताए । यस्ता प्रविधि स्थानीय तहसम्म नियमित सेवा रूपमा विस्तार गर्न सकेमा पशुपालन व्यवसाय अझ व्यवस्थित र नाफामुखी बन्नेछ । आधुनिक प्रविधिको सही प्रयोगले उत्पादन वृद्धि मात्र होइन, कृषकको आत्मविश्वास पनि बढाएको छ । ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तार नै दिगो कृषिको आधार बन्ने देखिन्छ ।


 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update