Shittalpati
अभिभावक गुमाएका बालबालिकालाई  शैक्षिक सामाग्री 

पाल्पा , अन्तरराष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा तानसेन नगरपालिका  सुरक्षित आप्रवासन सामीले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका सन्ततीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । तानसेन नगरपालिका भित्र वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ९ परिवारका सन्ततीहरूलाई पालिकाले स्कुल ब्यागसहित आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप–प्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, सामाजिक विकास अधिकृत अधिकृत कोशलराज घिमिरे, तानसेन नगरपालिका सामी कार्यक्रम प्रमुख दिनेश घिमिरे, जिल्ला आप्रवासी श्रमिक सञ्जालकी अध्यक्ष शर्मिला भाट लगायतले संयुक्त रूपमा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख  श्रेष्ठले तानसेन नगरपालिका नागरिकका सुखमा मात्र होइन, दुःखका बेलामा पनि साथ दिँदै आएको बताए । उनले वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्य सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।  नगरपालिकाको सामी कार्यक्रमसँगको सहकार्यले जोखिमपूर्ण आप्रवासन न्यूनीकरण र पीडित परिवारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख श्रेष्ठले जोड दिए ।  तानसेन नगरपालिका सामी कार्यक्रम संयोजक दिनेश घिमिरेले सामी कार्यक्रमले सुरक्षित, मर्यादित र कानुनी वैदेशिक रोजगारी प्रवद्र्धन गर्दै वैदेशिक रोजगारीबाट फर्किएका श्रमिक, ठगीमा परेका पीडित तथा मृतक श्रमिकका परिवारलाई कानुनी परामर्श, मनोसामाजिक सहयोग र पुनःएकीकरणमा सहयोग गर्दै आएको बताए । तानसेन नगरपालिका भित्र सामी कार्यक्रममार्फत वैदेशिक रोजगारीसम्बन्धी सचेतना कार्यक्रम, सीपमूलक तालिम, जोखिम न्यूनीकरण, पीडित श्रमिकको उद्धार तथा मृतक श्रमिकका परिवारलाई राहत सहयोग जस्ता गतिविधी प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन् ।  सामी कार्यक्रम मार्फत तानसेन नगर भित्र सुरक्षित आप्रवासनप्रति नागरिकको सचेतना बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । कार्यक्रममा सहभागी अभिभावकहरुले  शैक्षिक सामग्री सहयोगले आफ्ना सन्ततीको पठनपाठनमा सहजता आएको भन्दै तानसेन नगरपालिका सामी कार्यक्रमप्रति आभार व्यक्त गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update