Shittalpati
रैनादेवीको भुवनपोखरीमा सार्वजनिक सुनुवाई

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा नं. ३ भुवनपोखरीमा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जनताका गुनासा तथा सुझाव जनताकै घरदैलोमै पुगेर सुन्ने, जवाफ दिने र अवस्था अनुसार तत्कालै  कार्यान्वयन गर्ने, आगामी योजनाको लागी टिपोट गर्ने अभियानका साथ पालिकाले सार्वजनिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा भुवनपोखरीवासीहरुले पालिकासम्म पुग्न भौगोलिक रुपमा टाढा परेकाले आगामी दिनमा पनि नियमित रुपमा वडास्तरमा सार्वजनिक सुनुवाई गर्न पालिकासँग माग गरेका छन् ।  उनीहरुले पालिका जान टाढा भएकाले कानुनले दिन मिल्ने सबैखाले सेवा सुविधा वडा कार्यालयबाटै उपलब्ध गराउन माग गरेका छन् । सार्वजनिक सुनुवाईमा स्थानीय नागरिक, उपभोक्ता समिति, जनप्रतिनिधि तथा सरोकारवालाको  सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले वडाका सबै बस्तीमा स्तरीय सडक पहुँच सुनिश्चित गर्नुपर्ने, एक लाख रुपैयाँभन्दा कमका साना योजनाभन्दा बढी प्रतिफल दिने ठूला र प्रभावकारी योजना निर्माणमा जोड दिनुपर्ने सुझाव दिएका छन् । त्यस्तै शिक्षकहरुको मासिक तलब समयमै उपलब्ध गराउन पालिकालाई अनुरोध गरेका छन् । विद्यालयहरुलाई पर्याप्त बजेट विनियोजन गरी गुणस्तरीय पठन–पाठनमा पालिकाको लगानी सुनिश्चित गर्नुपर्ने  शिक्षक तथा सहभागीहरुले जोड दिएका छन् ।

सार्वजनिक सुनुवाईमा उपभोक्ता समितिले काम गरिरहेकै समयमा प्राविधिकबाट नियमित अनुगमन तथा निरीक्षण गरी आवश्यक राय–सुझाव तत्काल दिएमा योजनाको काम प्रभावकारी, दिर्घकालीन गुणस्तरीय हुनेमा उपभोक्ताले गाउँपालिकासँग आग्रह गरेका छन् । पालिकाले विभिन्न शीर्षकमा प्रदान गर्ने अनुदानको विवरण व्यवस्थित रुपमा राखी सार्वजनिक गर्नुपर्ने र अनुदान प्राप्त व्यक्ति तथा संस्थाले गरेका गतिविधिहरु पनि नियमित सार्वजनिक गर्नुपर्ने माग सहभागीहरुले गरेका छन्  । जसले अनुदानको रकम सही रुपमा प्रयोग हुने, दोहो¥याएर अनुदान लिने विकृती हट्ने, आवश्यकताको आधारमा सबैपक्षले अनुदान कार्यक्रममा सहभागी हुन पाउने सहभागीहरुले बताए । स्थानीयले रैनादेवी मन्दिर पश्चिम क्षेत्रकै चर्चित शक्तिपिठ रहेकाले मन्दिरको संरक्षण, सुरक्षा तथा नियमित सरसफाइका लागि एक जना सहयोगीको व्यवस्था गर्न माग गरेका छन् । साथै भुवनपोखरीका केही डाँडाबस्तीमा अझै पनि खानेपानीको समस्या रहेकाले चाँडोभन्दा चाँडो खानेपानीको व्यवस्था गर्नुपर्ने आवाज उठेको छ । चालु आर्थिक बर्षमा सबैभन्दा बढी योजना सम्झौता गर्ने वडा भएको भन्दै वडा सदस्यहरुले वडा नं. ३ लाई पुरस्कृत गर्नुपर्ने माग पनि राखेका छन् । कार्यक्रममा १४ जना सेवाग्रही तथा वडावासीले सुझाव तथा गुनासो राखेका थिए ।

सार्वजनिक सुनुवाईमा उठेका गुनासा तथा सुझावहरुको जवाफ गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियार, लेखा अधिकृत लिलामणी बस्याल, शिक्षा शाखा प्रमुख तेज कुमाल, स्वास्थ्य शाखा प्रमुख जीवन राना, सुशासन समिति संयोजक लक्ष्मण हिताङ्ग, वडा अध्यक्ष प्रदिप पौडेल, विषयगत शाखा प्रमुखहरुले जवाफ दिएका थिए । नागरिकबाट आएका गुनासा तथा सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने र सम्भव भएका विषय तत्काल तथा दीर्घकालीन योजनामार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता पालिकाले गरेको छ । गाउँपालिकाले ८ वटै वडामा जनताको घरदैलोमा पुगेर सार्वजनिक सुनुवाई गर्ने र वडाहरुको सकिएपछि अन्तिममा पालिकस्तरीय सार्वजनिक सुनुवाई गर्ने तालिका बनाएको जनाएको छ ।  यसैगरी  पालिकाले पुस ११ गते वडा नं. ८ सत्यवतीमा सार्वजनिक सुनुवाई गर्ने  भएको छ । सार्वजनिक सुनुवाईको सहजीकरण रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझीले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update