Shittalpati
रामपुरका महिलालाई धुप बनाउने तालिम

पाल्पा, जिल्लाको रामपुरका महिलाहरुलाई धुप बनाउने तालिम दिइएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोग र सिर्जना आमा समुहको आयोजना महिलाहरुलाई बटारे धुप बनाउने तालिम दिइएको हो ।

रामपुर –१० का महिलाहरुका लागि ५ दिने सिपमूलक तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई पुजाआजामा प्रयोग हुने स्थानीयस्तरमा पाईने सुकेका विभिन्न फुलबाट तयार गर्न सकिने बटारे धुप बनाउने सिप सिकाइएको हो ।

५ दिनसम्म चलेको तालिमको एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । तालिमको नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले समापन गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले महिलाहरुलाई अर्थोपार्जन गरि आत्मनिर्भर बनानउका लागि  नगरपालिकाले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताइन् । उनले महिलाहरुको माग र आवश्यकता अनुसार समय सुहाउँदो व्यवहारिक कार्यक्रममा जोड दिँदै आएको उल्लेख गरिन्  । उपप्रमुख थापाले महिलाहरुको सिक्ने र कमाउने चहानालाई पुरा गर्नका लागि आयआर्जनमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताइन् । तालिमबाट सिकेको सिपको माध्यमबाट उत्पादित बस्तुको बजारीकरणको व्यवस्था उपप्रमुख कोशेली घर मार्फत रामपुर नगरपालिकाले गर्दै आएको उनले बताइन् । साथै उनले तालिममा सिकेका सिपको माध्यमबाट उद्यमी बनी आयआर्जन गर्न समेत महिलाहरुलाई आग्रह गरिन् ।

वडा सदस्य पिताम्बर ओस्तीले सिकेको सिपलाई लगनशिलताका साथ निरन्तर प्रयोग गर्न आग्रह गरे । तालिमका प्रशिक्षक मञ्जु अधिकारीले उत्पादन गरी धुप खोज्न बजार तथा पसलमा नभई गाउँघरमा आउने वातावरण बनाउने गरि काम गर्नुपर्नेमा जोड दिइन् । यस्तै दुर्गादेवि भण्डारीले आफ्नै गाउँठाउँमा भएका कच्चा पदार्थको विभिन्न सुकेका फुलको उपयोग गरी बटारे धुप उत्पादन गर्नु पर्ने बताइन् । समाजसेवी पार्वती न्यौपानेले तालिममा सिकेका सिपलाई व्यवहारमा उतारी तालिमको औचित्य पुरा गर्न आग्रह गरिन् । तालिममा सहभागी बिमला ओस्ती, विद्या अर्याल र शोभा भण्डारीले तालिममा सिकेका कुरा मेहेनतका साथ व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालिम सञ्चालन गरेकोमा रामपुर नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।  ६० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजिकरण मञ्जु अधिकारीले गरेकी थिइन् । समूहका अध्यक्ष सावित्रा अधिकारीको अध्यक्षता, समृद्धि तिमिल्सिनाको स्वागत, दिपा तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update