पाल्पा, लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल लिमिटेड (एलएमसी) तानसेनमा व्यवस्थापन परिवर्तन गरिएको छ । अस्पतालको बीसौँ वार्षिक साधारण सभाबाट व्यवस्थापन परिवर्तन भएको हो ।
साधारण सभाबाट अस्पतालको अधिकतम शेयर किनबेच भएसँगै नयाँ सञ्चालक समितिले जिम्मेवारी लिएको छ । सभाको निर्वाचनको प्रक्रियाबाट नयाँ व्यवस्थापन समितिको अध्यक्षमा दिनेश सिलवाल ,प्रबन्ध निर्देशकमा डा. बलभङ्ग अधिकारी, निर्देशकहरु निर्दोष खनाल, दिवेश लोहनी, गोविन्द गौतम उपाध्याय रहेका छन् । १३५ जना सेयर होल्डर रहेको कलेजका प्रमुख संस्थापक गोपाल पोखरेलसहितको समूहको स्वामित्वमा रहेको ६७ प्रतिशत सेयर किनेर व्यवसायी सिलवालले कलेजको बहुमत स्वामित्व लिएका हुन् । अध्यक्ष सिलवाल नेपालको प्रतिष्ठित आईटी कम्पनी ‘कोडावतार’का अध्यक्ष हुन् । उनले आफ्नो कम्पनी मायाहोल्ड प्राइभेट लिमिटेडमार्फत लुम्बिनीको सेयर खरिद गरेका हुन् । मेडिकल कलेजका संस्थापकसमेत रहेका निवर्तमान अध्यक्ष गोपाल पोखरेलले आफूहरुले अधिकतम सेयर बेचेर मेडिकल कलेजबाट बाहिरिएको जानकारी दिए । उनले २० वर्षसम्म मेडिकल कलेजको नेतृत्व गर्दै आएका थिए । अस्पतालले दैनिक ५०० जनालाई ओपीडी सेवा दिने गरेको छ भने ३०० शैया अकुपेन्सी छ । एक हजार बढी विद्यार्थीलाई ग्राजुयट गरिसकेको कलेज वि.सं. २०६२ सालमा स्थापना भएको थियो । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा अहिले पोष्ट ग्राजुयसन, एमबीबीएस, र बीएस्सी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । कलेजले स्वदेशी तथा विदेशीहरुलाई उच्च गुणस्तरको चिकित्सा शिक्षा प्रदान गर्दै आएको छ । वि.सं. ०७७ सालमा पोखरेलको समूहले देवदह मेडिकल कलेजको बहुमत सेयर किनेको थियो ।
देवदहको सेयर किनेसँगै पोखरेल अब उतै केन्ङ्गत हुने भएका छन् । झण्डै २० वर्ष लामो चिकित्सा शिक्षाको विरासत बोकेको लुम्बिनी मेडिकल कलेज ३११ रोपनीमा क्षेत्रफलमा फैलिएको छ । नयाँ व्यवस्थापनले यस कलेजलाई स्थापना कालदेखि वर्तमान अवस्था सम्म ल्याइपुर्याउन महत्व पूर्ण योगदान पुर्याउने संस्थापक अध्यक्ष, सञ्चालकहरु, शेयरधनीहरु एवं विद्यार्थी, अभिभावक, सरकारी तथा गैरसरकारी संस्थाहरु, राजनैतिक दलहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मीहरु, शुभचिन्तकहरु, बुद्धिजीवीवर्ग, प्राध्यापक, चिकित्सक, शैक्षिक, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरु र प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।


