पाल्पा, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्धारा लिखित ऐतिहासिक उपन्यास अमरामृत खड्ग शम्सेर : रानीमहल : तथ्यकथ्यको एक समारोहविच लोकापर्ण भएको छ ।
राणा खड्क शम्सेर जीवनमा आधारित रहेर उनले निर्माण गरेको प्रेमको प्रतिक रानीमहलको चित्रण गरेर लेखिएको उपन्यासको खड्ग शम्सेरका पनाति डा. अजय शम्सेर राण, मधुकरण शम्सेर राण, जसवन्त शम्सेर राणा र नातीनी बुहारी सुधाकुमारी राणा लगायतको आतिथ्यतामा लोकापर्ण भएको हो ।
पाल्पा साहित्य समाज र सामाजिक व्यक्तित्व गोपाल पौडेलको प्रकाशनमा भएको ऐतिहासिक उपन्यास अमरामृत साहित्यकार रेग्मीको २७ औं कृति हो । साहित्यकार रेग्मीको पहिलो कृति अपसोच हो । अमरामृत उपन्यासलाई लेखक रेग्मीले २७ वटा अध्यायमा समेटेका छन् । लेखक रेग्मीले खड्ग शम्सेर अर्घाखाँचीको ठाडाबाट पाल्पामा आई जीवन विताएको, पाल्पामा रहँदा रानी तेज कुमारीको सम्झनामा रानीमहल ( तेजमहल ) निर्माण गरेको, पाल्पामै रहँदा लुम्बिनीमा अशोक स्तम्भ पत्ता लगाएको र अन्त्यमा सबैतिरबाट लखेटिएर भारत सागरमा पुगी देह त्याग गरेको विषयमा उपन्यासलाई केन्द्रित गरेका छन् । साहित्यकार रेग्मीले साहित्यको माध्यमबाट राणाकालीन ईतिहास, पाल्पा र रानीमहललाई खड्ग शम्सेरको पात्रबाट उजागर गरेका छन् । उपन्यासका बिच बिचमा कर्खा, पाल्सी भाषाको प्रयोगले पाठकलाई ध्यान केन्द्रित गराउने गरेको छ ।
लोकापर्ण कार्यक्रममा खड्ग शम्सेर फाउण्डेसनका अध्यक्ष एवं पनाती डा. अजय शम्सेर राणाले जिजु बाजेले गरेको योगदान, जिउँदो ईतिहासका कुरामा पनाती परिवार नै सहभागी हुँदा निकै खुसी लागेको बताए । जिजु बाजे खड्ग शम्सेरको इतिहास खोज्न आफु पटक–पटक पाल्पा आएको, रानीमहल दरवार पुगेको उनले बताए । रानीमहल संसारकै एउटा प्रेमको प्रतिक हो, यसलाई बचाउन, संरक्षण गर्न, प्रचार–पं्रसार गर्ने काम सरकारको भएपनि पर्याप्त ध्यान नदिएको गुनासो शम्सेरले गरे । खड्ग शम्सेरले रानीमहललाई व्यवस्थापन गर्न हजारौं रोपनीको गुठी बनाए पनि गुठीको राम्रो व्यवस्थापन नभएको उनले बताए । हामीले गठन गरेको फाउण्डेसनले पाल्पालीहरुसँग मिलेर काम गर्न चाहेको राणाले जोड दिए ।
कृतिको समीक्षा गर्दै साहित्यकार भागवत खनाल र इतिहास विद् अर्चना शाक्यले लेखक रेग्मीले गरेको मेहनत अथक नै भएको र अमरामृत उपन्यासले पाल्पाको इतिहास, गरिमा , धर्म संस्कृतिलाई अझै बलियो गराएको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, तानसेन नगरपालिकाका पर्यटन विकास समिति सदस्य पदमराज न्यौपाने, सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष रामजीप्रसाद ढुंगाना, साहित्यकार सीताराम घिमिरे र पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले अमतामृत उपन्यासले पाल्पालाई ऐतिहासिक, धार्मिक, साँस्कृतिक रुपबाट चिनाएको र इतिहासलाई उजागर गर्दै पर्यटन विकासमा टेवा पु¥यााएको चर्चा गरे । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कृतिकार पुष्कर अथक रेग्मीको धन्यवाद ज्ञापन र सचिव सविता भट्टराईको सञ्चालन भएको थियो ।


