Shittalpati
पाल्पामा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दो

पाल्पा,पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पामा बिरामीको आकर्षण बढेको छ । रोग निको हुने तथा निःशुल्क रुपमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो ।

आयुर्वेदिक उपचारमा मानिसहरूको कमै ध्यान जाने भएता पनि यहाँ भने केही समय देखी आयुर्वेदिक उपचारमा स्थानीयवासीको चासो बढ्न थालेको छ । दैनिक जसो दुई सय जनासम्म विभिन्न रोगका बिरामीहरू आयुर्वेदिक उपचारका लागि आउने गरेको आयुर्वेद जिल्ला स्वास्थ्य केन्द्र पाल्पाले जनाएको छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै यहाँ विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले रोग अनुसारको उपचार पद्धति अपनाइएको छ । यहाँ नियमित रुपमा दुई जना आयुर्वेदिक चिकित्सक सहति ११ जना कर्मचारीहरुले सेवा प्रवाह गर्दै आएका छन् । पछिल्लो समय आयुर्वेद उपचार प्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद बस्यालले बताए । “पछिल्लो समय आयुर्वेदिक उपचारमा स्थानीयवासीको चाप बढेको छ,आयुर्वेदिक औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।” उनले भने । “उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ ।” बस्यालले थपे । स्वास्थ्य केन्द्रले प्रभावकारी सेवा प्रवाह गर्दै आएका कारण समेत न्युनतम सेवा मापदण्ड  कार्यान्वयनमा उत्कृष्ट हुन  सफल भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको न्युनतम सेवा मापदण्ड  कार्यान्वयन मूल्याङ्कनमा उत्कृष्ट अंक ल्याउन सफल भएको छ । निर्देशनालयले स्थलगत अनुगमन गरी  एक कार्यक्रमका बिच चालु आर्थिक वर्षको न्युनतम सेवा मापदण्ड  कार्यान्वयन कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । तानसेनमा आयोजित कार्यक्रममा निर्देशनालयका आयुर्वेदिक विज्ञ डा. विभाकर ठाकुरले स्वास्थ्य केन्द्रले ५९ दशमलव ८२ अंक प्राप्त गरेको नतिजा सार्वजनिक गरे । निर्देशनालयले शुसासन तथा व्यवस्थापन, अस्पतालको सेवा प्रवाह, तथा सपोर्ट सर्भिस गरी तीन विषय अन्तर्गत ४ सय ४० वटा सूचकहरूको आधारमा मूल्याड्ढन गरेको जनाएको छ । पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र गत बर्ष लुम्बिनी प्रदेशमा १४ जिल्लाको कार्यसम्पादनमा तेस्रो भई पुरस्कृत भएको थियो । पाल्पामा एक आयुर्वेदिक स्वास्थ्य केन्द्र, ७ वटा आयुर्वेदिक औषधालय, ३ वटा नागरिक आरोग्य केन्द्र गरी ११ वटा आयुर्बेदिक संस्थाले उपचार प्रदान गर्दै आएका छन् । सार्वजनिक नतिजाअनुसार केन्द्रले गत आर्थिक वर्ष ५५ दशमलव ८० अंक प्राप्त गरेको थियो भने अघिल्लो वर्ष ५३ अंक पाएको थियो । पछिल्ला तीन वर्षको नतिजा हेर्दा केन्द्रले क्रमिक रुपमा प्रगति गर्दै गएको देखिएको छ । डा. ठाकुरका अनुसार सेवा गुणस्तर, व्यवस्थापन प्रणाली र अभिलेखीकरणमा सुधार हुँदा अंकमा वृद्धि भएको हो । कार्यक्रममा पाल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद बस्यालले केन्द्रले आयुर्वेद क्षेत्रमा गरेका काम तथा गतिविधीहरू सार्वजनिक गरे । उनले पछिल्लो समय आयुर्वेदिक उपचारप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको बताए । दैनिक रुपमा विभिन्न दीर्घरोग, जीवनशैलीसम्बन्धी समस्या तथा सामान्य उपचारका लागि सेवाग्राही आउने गरेको उल्लेख गर्दै उनले जनशक्ति र सीमित स्रोत साधनका बाबजुद पनि सेवा निरन्तर प्रवाह भइरहेको बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले भवनको अभाव र पर्याप्त बजेट नहुँदा सेवा प्रवाहमा समस्या भइरहेकोमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले आयुर्वेदिक स्वास्थ्य सेवा नागरिकका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै केन्द्रको भौतिक पूर्वाधार कमजोर हुनु चिन्ताको विषय भएको बताए । सेवाको माग बढ्दै गएको छ तर भवन र बजेटको अभावले केन्द्रले चाहेजति सेवा विस्तार गर्न नसकेको समन्वय प्रमुख खनालले जोड दिए । जिल्ला समन्वय कार्यालय पाल्पाका समन्वय अधिकारी पुनाराम पौडेलले आयुर्वेदिक स्वास्थ्य केन्द्रको दीर्घकालीन विकासका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । उनले न्युनतम सेवा मापदण्डमा देखिएको प्रगति सकारात्मक भए पनि संरचना र बजेटको समस्या समाधान नगरेसम्म अपेक्षित नतिजा हासिल गर्न कठिन हुने बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आयुर्वेदिक स्वास्थ्य सेवाको महत्व र केन्द्रले भोग्दै आएका समस्याबारे सञ्चार माध्यममार्फत निरन्तर आवाज उठाइने बताए । उनले आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई सबल बनाउन तानसेन नगरपालिकाले सहयोग गर्नुपर्ने र नसर्ने रोग अत्याधिक बढेकोले  आयुर्वेदिक क्षेत्रमा बजेट विनियोजन गर्न  तानसेन नगरपालिकाको ध्यानाकर्षण गराए । कार्यक्रममा सहभागी वक्ताहरूले न्युनतम सेवा मापदण्डमा सुधार देखिनु सकारात्मक भए पनि भवन अभाव र बजेट समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको निष्कर्ष निकालेका थिए । कार्यालयका सूचना अधिकारी यज्ञ गैरेको सञ्चालनमा कार्यक्रम चलेको भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update