पाल्पा, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दै छन् । ध्यानमार्फत केही व्यक्तिहरूले आफ्नो वास्तविक आत्मालाई अनुभूति गरी आत्मसाक्षात्कार गर्छन् । अरूले ज्ञानको मार्ग, योगको मार्ग वा कर्मको मार्गबाट आत्मसाक्षात्कार प्राप्त गर्छन् । दिवसले ध्यानको महत्व र आन्तरिक शान्तितर्फको यात्रालाई उजागर गर्छ । ध्यान आत्म–चिन्तन र आन्तरिक चेतनाका लागि शक्तिशाली माध्यम हो । दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ । यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार, र कार्यशालाहरू आयोजना गरिन्छ ।
आधुनिक एवं व्यस्त जीवनशैलीमा मानिसहरू स्वस्थ रहन चाहन्छन् । त्यसका लागि आफूलाई सन्तुलित रूपमा अघि बढाउनुपर्छ । सन्तुलित जीवनयापनले स्वस्थ रहन सहयोग गर्छ । त्यसका लागि आफ्नो खानपानदेखि व्यायामसम्म ध्यान पु¥याउनुपर्छ । राम्रो स्वास्थ्य नै सफल जीवनको महत्वपूर्ण सूत्र हो । शारिरीक रुपमा स्वस्थ रहनका लागि हरेक वर्ष ध्यान दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले दिवसको महत्व अझ बढाउँदछ । शरीर, इन्द्रिय, मन र आत्माको संयोग नै आयु हो ।


