Shittalpati
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकहरूको सम्झनामा दीप प्रज्ज्वलन 

पाल्पा, अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२ को अवसरमा “श्रम आप्रवासनका क्रममा सुशासन, सुरक्षित, मर्यादित र सिपमूलक आप्रवासन” भन्ने मूल नारासहित तानसेन नगरपालिका–तानसेन टुँडिखेलमा दीप प्रज्वलन गरिएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकहरूको सम्झनामा आयोजित उक्त कार्यक्रमले सुरक्षित र जिम्मेवार आप्रवासनको आवश्यकता औँल्याएको छ ।
  तानसेन नगरपालिका सामी कार्यक्रमको आयोजनामा सम्पन्न दीपप्रज्वलन कार्यक्रममा वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले दीपप्रज्वलन गरेका थिए । कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाकी कार्यवाहक प्रमुख प्रतिक्षा गाहा सिंजालीले वैदेशिक रोजगारी नेपाली युवाको बाध्यता बनेको उल्लेख गर्दै त्यसलाई सुरक्षित, मर्यादित र सिपमूलक बनाउनु आजको आवश्यकता भएको बताईन् ।  बैदेशिक रोजगारीका क्रममा असुरक्षित यात्रा, ठगी, श्रम शोषण र अकालमै ज्यानगुमाउने घटनाहरू दुःखद् भएको अबको आप्रवासन सुशासनमा आधारित, सिपसँग जोडिएको र श्रमिकको हकहित सुनिश्चित हुने खालको हुनुपर्ने नगर उपप्रमुख सिंजालीले जोड दिईन् ।  तानसेन नगरपालिका सामी कार्यक्रमका संयोजक दिनेश घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सही सूचना, सीप र कानुनी प्रक्रियाको जानकारी दिन सामी कार्यक्रमले निरन्तर काम गरिरहेको जानकारी दिए । सामी कार्यक्रम मार्फत तानसेन नगरपालिकाभित्र सुरक्षित आप्रवासन, ठगी न्यूनीकरण र श्रमिकको अधिकार संरक्षणका लागि सचेतनामूलक गतिविधि सञ्चालन हुँदै आएको कार्यक्रम संयोजक घिमिरेले बताए । तानसेन नगरपालिकाले जिल्ला प्रशासनमा राहदानी बनाउन आउने सबै नागरिकहरुलाई अनिवार्य परामर्श सेवा प्रदान गर्दै आएको उनले बताए । 
    दीप प्रज्वलन कार्यक्रममा तानसेन नगरपालिकाको रोजगार शाखा, सामी कार्यक्रमका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै अब यस्ता दुःखद् घटनाहरू दोहोरिन नदिन सबै पक्ष गम्भीर हुनुपर्नेमा सर्वसाधारणहरुले जोड दिएका थिए । कार्यक्रमले वैदेशिक रोजगारीलाई अन्तिम विकल्पका रूपमा हेर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने, जाने अवस्थामा पनि सुरक्षित र मर्यादित बाटो अपनाउनु पर्ने विषयमा सामी कार्यक्रमले जोड दिदै सचेतनाका कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्दै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update