Shittalpati
दमकडा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान

पाल्पा,  जिल्लाको तानसेन दमकडास्थित दमकडा  माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) प्रदान गरिएको छ । विद्यालय सुधारका विभिन्न ५२ सूचकमध्ये कम्तीमा ५१ प्रतिशत सूचकमा काम भएपछि विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान गरिएको हो ।

ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका उप–प्रमुख काशिका गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्याल, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा, आईएसओ विद्यालयका संयोजक जीवन आचार्यलाई आईएसओ  सर्टिफाइड लोगो प्रदान गरेका हुन् । विद्यालय शिक्षालाई, गुणस्तर, अनुसाशित, संस्कारी र सिक्ने, टिक्ने र बिक्ने गरी विकास गर्न विद्यालयले भौतिक तथा शैक्षिक विभिन्न गतिविधिका सूचकहरु पुरा गरेपछि लोगो पाएको हो । पाल्पामा आईएसओ  सर्टिफाइड लोगो पाउने यो पहिलो विद्यालय बनेको छ । विद्यालयल सुधारको लागि लगातार ७ महिनाको मेहनतपछि विभिन्न ५१ वटा विद्यालय सुधारका सूचकहरु पुरा गरी तोकिएका सूचकहरुको अनुगमन, मुल्याङ्कन  तथा प्रमाणिकरण गरी लोगो प्रदान गरिएको हो । 
लोगो पाएसँगै यस विद्यालयले आगामी तीन वर्षभित्र बाँकी तीन सय सूचकहरु पुरा गरी ती सूचकहरुलाई  व्यवस्थापन प्रणालीमा स्थायी रूपमा लागू गरी पूर्ण आईएसओ   सर्टिफाइड विद्यालयको रूपमा घोषणा हुने बाटो खुलेको छ । 

काउन्सिलले  तोकेका ५१ सूचकहरु विद्यालयसँग जोडिएका, स्थानीय सरकार, अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको व्यवस्थापन प्रणालीको गुणस्तरलाई मापन र सुधार गर्ने विषयमा केन्द्रित विषयबस्तुहरु रहेका छन् ।  विद्यालयले लामो समयदेखी कक्षा १ देखी १२ सम्म दृष्टिविहिन कक्षा, कक्षा ९ देखी १२ सम्म सिभिल ईन्जिनियरिङ्ग जस्ता विशेष कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयमा ९५० विद्यार्थी र ५० जना शिक्षक तथा कर्मचारीहरु रहेका छन् । काउन्सिलले तोकेमा विषयबस्तुहरुमा कक्षाकोठाको भौतिक अवस्था, प्रविधि र शैक्षिक सामग्रीको उपलब्धता राम्रो हुनुपर्ने, पाठ्यक्रम कार्यान्वयन, निर्धारित पाठ्यक्रमको प्रभावकारी शिक्षण र सिकाइ प्रविधि प्रभावकारी हुनुपर्ने, मूल्याङ्कन प्रणालीः विद्यार्थीको मूल्याङ्कन विधि, नतिजा विश्लेषण र सुधारको रणनीति वैज्ञानिक हुनुपर्ने, भिजन र रणनीतिः विद्यालयको दीर्घकालीन लक्ष्य, दृष्टिकोण र गुणस्तर नीतिहरूको स्पष्टता हुनुपर्ने र ती कार्यान्वयनमा रहेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालले बताए ।

 यसै गरी काउन्सिलले तोकेका अन्य सूचकहरुमा नेतृत्वको प्रतिबद्धताः व्यवस्थापन र शिक्षकहरूद्वारा गुणस्तर व्यवस्थापन प्रणालीको निरन्तर पालना गर्नुपर्ने,  सरोकारवालाको सन्तुष्टिः विद्यार्थी, अभिभावक, शिक्षक र समुदायको सन्तुष्टि मापन र गुनासो सम्बोधन प्रणालीको व्यबस्था गर्नुपर्ने, शिक्षक तथा कर्मचारीको नियमित रुपमा दक्षता बृद्धिसँगै  तालिम, व्यवसायिक विकास र कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्ने, पूर्वाधारतर्फ विद्यालय भवन तथा परिसर धुलोरहित बनाउनु पर्ने, डिजिटल पुस्तकालय, पर्याप्त मात्रामा प्रयोगशाला, खेल मैदान जस्ता भौतिक पूर्वाधारको अवस्था राम्रो हुनुपर्ने कुरा विद्यालयको तर्फबाट पुरा भएको विद्यालयका आईएसओ संयोजक जीवन आचार्यले बताए । यसैगरी अन्य सूचकहरुमा  विद्यालयमा नियमित रुपमा सूचना प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ तथा आन्तरीक व्यवस्थापन गर्नुपर्ने, आन्तरिक लेखापरीक्षणबाट व्यवस्थापन प्रणालीको नियमित जाँच र कमजोरी पहिचानमा जोड दिएको हुनुपर्ने, मापन र विश्लेषणः शैक्षिक तथा प्रशासनिक कार्यसम्पादनको तथ्याङ्क विश्लेषण गर्नुपर्ने, निरन्तर सुधारको क्रममा  पहिचान भएका कमजोरीहरूको आधारमा सुधारका कार्यक्रम लागू गर्ने प्रणालीको विकास भएको हुनुपर्ने  लगायत रहेको प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले बताए ।   

लोगो प्राप्तिको यो प्रक्रियाले विद्यालयको प्रशासनिक र शैक्षिक प्रक्रियाहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा ढाल्न सहयोग पुगेको छ । अबको तीन वर्षको अवधिमा विद्यालयले ती  ३५१ सूचकहरूलाई दैनिक कार्यसम्पादनको अभिन्न अङ्ग बनाउँदै गुणस्तर व्यवस्थापन प्रणाली लाई पूर्ण रूपमा संस्थागत गर्नेछ । यो अवधिमा विद्यालयले कक्षा ५, कक्षा ८ र एस ई ई र मा शतप्रतिशत नतिजा ल्याउनु पर्ने छ ।  विद्यालय पूर्ण घोषणा भएपछि दमकडा नमुना मावि पाल्पा जिल्लाकै उत्कृष्ट मात्र नभई देशकै नमुना गुणस्तरीय शैक्षिक संस्थाको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । दमकडा नमुना माध्यमिक विद्यालयलाई आईएसओ  सर्टिफाइड लोगो प्रदान गरिनुले शैक्षिक व्यवस्थापनमा नेपालका सामुदायिक विद्यालयहरू पनि अन्तर्राष्ट्रियस्तरको गुणस्तर कायम गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ ।   विद्यालयको यो  उपलब्धिले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक, अन्य प्रतिष्प्रर्धी विद्यालयहरुलाई  गुणस्तरीय शिक्षाका लागि थप उत्साहित बनाएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update