पाल्पा, विशेषतः बालबालिकाहरुको पठनपाठनका लागि स्कूल खोल्ने गरिन्छ । उनीहरुको पहिलो पाठशाला घरपरिवार भए पनि दोस्रो पाठशालाका रुपमा स्कुललाई लिने गरिन्छ । पाल्पामा भने वृद्धवृद्धाहरुका लागि समेत स्कुल खोलिएको छ ।

वृद्धवृद्धाहरुका लागि पनि स्कुल भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्दैन जिल्लाको रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाह, संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पु¥याउने उद्देश्य राखेर ‘जेष्ठ नागरिक स्कूल’ सञ्चालनमा ल्याएको छ । उसले एक करोड २६ लाख लागतमा रामपुर–५, स्थित रामघाटमा स्कूल सञ्चालनमा ल्याएको हो । जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, पाका पुस्ताहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पु¥याउने उद्देश्य राखेर स्कूल सञ्चालनमा ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले भने, “सन्तानहरु रोजगारी तथा विभिन्न पेशा, व्यवसाय र पढाईको शिलशिलामा घर भन्दा बाहिर हुँदै गर्दा जेष्ठ नागरिकहरु निरास जीवन जिउनु पर्ने बाध्यता छ । आफ्ना दौतरीसँग भलाकुसारी गर्दै अनुभव र ज्ञान नयाँ पुस्तामा बाँड्ने उद्देश्यका साथ स्कूल स्थापना गरेका हौं ।” पाकापुस्तालाई आफ्ना दौतरीसँग दिन विताउने वातावरण स्कुलले प्रदान गर्नेछ । उनले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको बताए । जेष्ठ नागरिकहरुलाई धार्मिक प्रवचनसँगै फुर्सदको समयमा बात्ती काट्ने, दुना टपरी बनाउने लगायतका वातावरण निर्माणसँगै बजारीकरणका लागि प्रबन्ध मिलाईएको छ । विद्यालयमा विषेशगरी दिउँसोको समयमा जेष्ठ नागरिकहरुलाई स्कुल सम्म ल्याई पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । स्कुलमा धार्मिक प्रवचन, भजन कृतन, घरेलु सामग्री र यसको प्रयोग, जेष्ठ नागरिकहरुका लागि दिवा खाजा, स्वास्थ्य परिक्षण सहित सन्ध्या आरतीको व्यवस्था गरिएको नगर प्रमुख थापाले बताए । स्कूल भित्र नगर भित्रका विद्यार्थीलाई अध्ययनका लागि व्यवस्था समेत मिलाइएको उपप्रमुख बालकुमारी थापाले बताइन् । जेष्ठ नागरिक स्कूलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग पुग्ने उनले विश्वास लिइन् । नगरपालिकाले स्कूल सञ्चालनका लागि कार्यविधि निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए । जेष्ठ नागरिकलाई आउन र जानका लागि बस सेवा समेत सञ्चालनमा ल्याएको उनको भनाई छ । नगरपालिकाले बुधबारदेखि स्कूल सञ्चालनमा ल्याएको हो । सङ्घ, प्रदेश र स्थानीय सरकारको एक करोड २६ लाख लागतमा स्कूल निर्माण भएको व्यवस्थापन समिति अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिए । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले समेत स्कूलका लागि सहयोग गर्दै आएको उनको भनाई छ ।कुलले स्थापनाले नयाँ पुस्तामा सिप पुस्तान्तरणमा महत्वपूर्ण टेवा पुग्ने रामपुर–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताए । नगरपालिकाका सल्लाहाकार सन्दीप रानाले देश मै पहिलो पटक रामपुर नगरपालिकाले नमूना अभ्यास गरेको बताए । जेष्ठ नागरिक स्कुलले जीवनका अनुभवलाई आपसमा साटासाट गर्नुका साथै समाजको मौलिकपनलाई पनि जीवन्त राख्न महत्वपूर्ण सहयोग गर्ने उनको बुझाई छ । जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले जेष्ठ नागरिकलाई उचित सम्मान प्राप्त नभइरहेको सन्दर्भमा पाठशाला स्थापनाले जेष्ठ नागरिकको उचित सम्मानमा महत्वपूर्ण टेवा दिएको बताए । रामपुर नगरपालिका सल्लाहाकार विष्णु माया ढकालले सन्तान घर बाहिर हुँदा हुने पिडा भुलाउन स्कुलले सहयोग गर्ने विश्वास लिइन । उनले नैतिक शिक्षा वर्तमान आवश्यकता भएको समेत बताइन । नेपाली काँग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले जेष्ठ नागरिक खुशी बनाउन नगरपालिकाले चालेको कदमको प्रसंशा गरे । नेकपा एमाले रामपुर नगर कमिटी सचिव लोकनाथ भट्टराईले जेष्ठ नागरिक स्कुल देश कै नमुनाको रुपमा स्थापना भएको बताए । नेपाली कम्युनिष्ट पार्टी नेकपा रामपुर कार्यदलका सदस्य कमल सेनले निरास जीवन विताई रहेका जेष्ठ नागरिकहरुको लागि नगरपालिकाले महत्वपूर्ण कार्य गरेको बताए । राष्ट्रिय जनमोर्चा रामपुर नगर अध्यष राम प्रसाद गैरेले यस किसिमको अभ्यास देशै भर हुनु आवश्यक रहेको उल्लेख गरे ।
जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवास, जेष्ठ नागरिक केन्द्र र आचार्य निवास सहित तीन वटा भवन संगै प्रतिक्षालय निर्माण गरिएको छ । साथै परम्परागत सामग्रीहरु ढिँकी, जाँतो समेत निर्माण गरिएको छ । जेष्ठ नागरिक स्कुलमा तीन सय भन्दा बढी जेष्ठ नागरिकहरुले नाम दर्ता गरिसकेको जेष्ठ नागरिक संघ रामपुरका नगर अध्यक्ष कृष्ण प्रसाद अर्यालले जानकारी दिए । दार्शनिक गुरु योगी विकाशानन्दको उपस्थितिमा रामघाटमा शारीरिक, मानसिक तथा आध्यात्म सम्बन्धी ३ दिवसीय आत्मा जागरण कार्यक्रम समेत चलिरहेको नगरपालिकाका योजना शाखा अधिकृत विक्रम बस्नेतले बताए ।


