पाल्पा, नेपाली काँग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् भण्डारीले पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
“साथीहरूको जिज्ञासा मेरो धारणा !!! नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,” नेता भण्डारीले लेखेका छन् । देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ । नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, “देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,।”
काँग्रेस महाधिवेशन नजिकिदै जाँदा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । यस अघि महामन्त्री गगन थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । १४औं महाधिवेशनमा भण्डारी कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका नेता भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए । उपसभापतिको दौडमा १ हजार ५८० मत पाएर भण्डारी चौथो भएका थिए ।


