देवदह (रुपन्देही), यही मङ्सिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित सातौँ लुम्बिनी महोत्सवमा १२ करोडको कारोबार भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सव १२ करोडको कारोबार भएको आयोजकले जनाएको छ ।
चेम्बर अफ कमर्स तथा उद्योग व्यापार सङ्गठन, रुपन्देहीको आयोजनामा महोत्सव भएको थियो । महोत्सव एक लाख २० हजार दर्शकले अवलोकन गरेको चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिए । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए । यस्तै, महोत्सवमा राष्ट्रिय, घरेलु तथा साना उद्योगको उत्पादन, अटो, बैंक तथा वित्तीय संस्थालगायतको प्रवद्र्धन गरिएको थियो । महोत्सवले भैरहवा र यस आसपासको बजार चलायमान बनाउन कोशेढुङ्गा सावित भएको आयोजकको दाबी छ । महोत्सवमा ३०० स्टल रहेका थिए ।
महोत्सवको एक समारोहकाबीच समापन गरिएको छ । समारोहमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मण्डप बनाउनु ठूलो कुरा नभए पनि मण्डप निर्माणपछि महोत्सवबाहेक अन्यबेला स्थान कत्तिको प्रयोग हुन्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए । “मण्डप बनाएपछि वर्षमा एकपटक महोत्सव सञ्चालन गरेर मात्रै पुग्दैन, अन्य कार्यक्रम पनि गरिरहनुपर्छ”, उनले भने । मन्त्री कार्कीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि प्रदेशस्तरबाट पहल भइरहेको बताए । नेपालमा सयभन्दा ठूला दरका भारु नोट चलाउन भारतीय केन्द्रीय बैंक स्वीकृति दिनु खुसीको विषय भएको उनको भनाइ छ ।


