
गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले यति बेला पीडा माथि पीडा खेप्नु परेको छ । एक वर्ष अघि प्रशस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसयलमा राखौं, छोराछोरीको पठन–पाठन र लालनपालन गरौला भनी सुनौलो सपना बोकेर विदेशिएका श्रीमान बेपत्ता हुँदा विमला अहिले पीडामा छिन् । परिवारको साहरा बनेका श्रीमान नै एक वर्षदेखि भारतमा बेपत्ता हुँदा उनी पीडामा परेकी हुन् । जो होचो उसैको मुखमा घोचो भने झै विमलालाई अहिले यस्तै भएको छ । कमाउने श्रीमान नभएपछि जनतन दैनिक ज्यालादारी गर्दै तीन जनाको परिवार पाल्दै आएकी विमलाले कोरोना महामारीका कारण सरकारले जारी राखेको लकडाउनले गर्दा काम गर्न समेत पाएकी छैनन् ।
जसले गर्दा उनलाई साँझ विहानको चुलोचौकौ बाल्न समेत समस्या परेको छ । घरको दैनिकी चलाउनका निम्ति संघर्ष गरेकी विमलालाई अहिले फेरि ठूलो समस्या आइपरेको छ । सानो झुपडीमा बसेर जिवीको चलाउँदै आएकी उनलाई केही दिन अघि आएको हावाहुरीले त्यही झुपडी समेत उडाइदिएको छ । अहिले उनी न बास, न गाँसको अवस्थामा रहेकी छन् । पीडित कुंवर भन्छिन् ‘भगवानले पनि दुःखीलाई हेप्दा रहेछन्, पालन पोषणगर्ने श्रीमान बेपत्ता छन्, सानो घर पनि एक साता अघि आएको हावाहुरीले उडाइदियो अहिले मलाई पर्नु पिर परेको छ ।’ ज्यालादारी गर्दै दुई वटा बच्चाहरुलाई पाल्दै आएकी थिएँ तर तीन महिना भयो काम पनि पाएकी छैन भावुक हुँदै विमलाले भनिन् । हावाले उडाईदिएको घर अहिले छिमेकी मिलेर ओत्न मिल्ने सम्मको बनाईदिएका छन् । तर पनि त्यो त्यत्ति सुरक्षित भने छैन ।
ठूलो हावा पानी आएमा थप समस्या उत्पन्न हुने देखिन्छ । जेनतेन ओत्ने सम्मको लागि वास बने पनि खाना खाने, ओड्ने ओछ्याउने लगायतका सामग्रीको समस्या रहेको कुवँरले बताइन् । उनले भनिन् ‘गाउँका छिमेकीले बाँसले बारेर बस्नको निम्ति घर बनाईदिए पनि तत्कालै खानाको निम्ति समस्या परेको छ ।’ उनका श्रीमान भारतको पञ्जावमा एक वर्ष पहिले होटलमा काम गर्न भनी गएका थिए । उनी घर परिवारको सम्पर्कमा नआउँदा विमलालाई परिवार चलाउनको निम्ति समस्या थपिएको छ । उनका दुई साना बच्चाहरु छन् । बस्नको निम्ति बास बनाउने ठाउँ बाहेक विमलाको अन्य जग्गा जमिन समेत छैन् । घरमा साँझ बिहान चुलो बाल्न दैनिक ज्याला मजदुरी गर्नु पर्छ, तर ज्याला मजदुरी गर्न अहिले लकडाउनका कारण कसैले बोलाउँदैन उनले भनिन्, ‘घरमा श्रीमान नहुनु त्यो माथि पनि कमाउन गएका श्रीमानको अत्तो पत्तो छैन ।’ लकडाउनको बेला वडा कार्यालयले केही राहत दिए पनि तत्कालको लागि मात्रै भएको कुँवरले बताइन् । –पत्रकार अनिल खत्रीबाट