Shittalpati
बेथलमा एनसीसी जुनियर डिभिजनको विशेष तालिम सकियो

पाल्पा, तानसेनमा रहेको बेथल इङ्लिस बोर्डिङ्ग स्कूलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजनको विशेष तालिम सकिएको छ । ७९ दिनसम्म सञ्चालन भएको एनसीसी ५१ औं ब्याजको सिनियर डिभिजनको स्थान विशेष तालिम सकिएको हो ।

तालिममा १५/१५ जना छात्र,छात्रालाई नेपाली सेनाका प्रशिक्षकहरुबाट तालिम दिइएको थियो । तालिम प्राप्त एनसीसीका विद्यार्थीहरु मंसिर  १९ गतेदेखि नवलपुरको हात्तिखोरमा हुने प्रतियोगितामा सहभागी हुने छन् । उनीहरु सामुहिक क्याम्पमा सहभागी भई विभिन्न प्रदर्शनहरुमा भाग लिने जनाइएको छ । यस अघि बेथल स्कूलको १६ औं ब्याजका एनसीसी सिनियर डिभिजनका विद्यार्थीहरु सामुहिक क्याम्पमा आयोजित विभिन्न प्रदर्शनमा सर्वोत्कृष्ट हुन सफल भएका थिए । विशेष तालिम पुरा गरेका विद्यार्थीहरुलाई विहीबार एक औपचारिक कार्यक्रमका बिच स्थान विशेष तालिम निरिक्षण तथा विदाइ शुभकामना दिइएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले राष्ट्रिय सेवा दलको क्षेत्रीय क्याम्पमा जान लागेका विद्यार्थीहरुको प्रदर्शनका लागि सफलताको शुभकामना दिए । उनले राष्ट्रिय सेवा दलको तालिम प्राप्त विद्यार्थीहरु अनुसाशित, इमान्दार र राष्ट्रभक्तिको भावनाले प्रेरित हुने हुँदा जुनसुकै क्षेत्रमा पनि सफलता पाउने बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व, व्यक्तित्व, राष्ट्रिय भाव जागृत गराउन महत्वपूर्ण  भूमिका खेल्ने बताए ।  उनले छनौटका आधारमा विद्यालयले ७४ सालदेखी यो कार्यक्रम निरन्तर  चल्दै आएको  बताए । पछिल्लो समय युवाहरु सामाजिक सञ्जालमा भुली रहेको र संस्कार समेत बिर्सदै गएको अवस्थामा यहाँका विद्यार्थीहरुले राष्ट्र र राष्ट्रियतामा चिन्तन मनन् गरेकोमा खुसी व्यक्त गरे । मन्त्री सारुले विद्यार्थीहरुलाई जीवन व्यवस्थापनमा ध्यान दिन भन्दै आफ्नै काम आफै गर्नुपर्ने बताए ।

प्याब्सन पाल्पाका सचिव गंगाबहादुर खत्रीले पाल्पामा राष्ट्रिय सेवादलको तालिमका लागि बेथल स्कूल छनौट भएकोमा बधाई दिदै तालिम प्राप्त विद्यार्थीहरुको भविष्य उज्वल रहेको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र  रायमाझीले विद्यालयले कितावी ज्ञानमा मात्र विद्यार्थीहरुलाई सिमित नराखी अतिरिक्त क्रियाकलापमासमेत अब्बल बनाउँदै लगेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालले शिक्षक, अभिभावक र विद्यार्थीहरुको लगनशीलता, इमान्दारिता र अनुशासनका कारण एनसीसी कार्यक्रममा विद्यालय निरन्तर छनौट हुन सफल भएको बताए । सािमतिका सदस्य कमल काफ्लेले विद्यालयले अनुसाशित, उर्जाशिल युवाहरु उत्पादन गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा तालिममा सहभमागी विद्यार्थीहरु विपासा  सारु र मनमाया सारुले आफुहरुले उच्च मनोबलका साथ आगामी पतियोगिताहरुमा सहभागी हुने बताए । स्थान विशेष तालिमको दि फेमस महिन्द दल गणका सेनानी  निराजन सापकोटाले निरिक्षण  गरेका थिए । युवाहरुमा राष्ट्रिय भावना जागृत गराउन, कर्मशील, मर्यादित मुलुकपति समर्पित र उर्जाशील युवा तयार गर्ने उद्देश्य राखेर तालिम हुँदै आएको विद्यालयका प्रिन्सिपल रुपचन्द्र थापाले बताए । उनले यो तालिम राष्ट्रिय सेवा दल जंगी अड्डाद्वारा सञ्चालित तालिम भएको बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालको अध्यक्षता, विद्यालयका एनसीसी सहयोगी शिक्षक विपिन पंगेनीको सञ्चालनमा कार्यक्रम भएको थियो । 


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update