पाल्पा, पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा , खैरेनी सामुदायिक वन रामपुर पाल्पाको आयोजना र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा चरा संरक्षणका लागि नेपाल पंक्षी संरक्षण सञ्जालको राष्ट्रिय कार्यशाला गोष्ठी भएको हो ।
गोष्ठीमा सहभागी हुन सातै प्रदेशका चरा संरक्षणकर्मीहरु तानसेन आएका छन् । गोष्ठीमा सहभागीहरुले लोप हुँदै जान थालेका चराहरुको संरक्षणमा सबैले चासो देखाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले मानविय कारणले नै चराहरु संकटको अवस्थामा रहेको भन्दै त्यसको संरक्षण पनि मानवले नै गर्नु पर्ने बताए । कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाका वरिष्ठ वन अधिकृत मोहनप्रसाद श्रेष्ठले वातावरण र चरा संरक्षणमा गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले समुदायस्तरमा सचेतना जगाउन सके चरा संरक्षण गर्न सकिने बताए । प्रमुख अतिथि समेत रहेका श्रेष्ठले बजेट अभावका कारण डिभिजन वन कार्यालयबाट चरा संरक्षणका लागि छुट्टै कार्यक्रम नभएको तर गिद्ध संरक्षणमा वन उपभोक्ता समितिहरुसँग मिलेर काम गरेको बताए । सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाकी सचिव लक्ष्मी ज्ञवालीले पशु पंक्षी संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै आफुहरुले यी क्षेत्रमा काम गर्दै आएको बताईन् । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले चरा, वातावरण र मानिसबिच अन्याश्रित सम्बन्ध रहेकाले चरा र वातावरण संरक्षणमा सबैले चासो देखाउनुपर्ने बताए । उनले चरा लोप हुँदै गर्दा मानव जीवन नै संकटमा पर्ने भएकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । सचिव रायमाझीले भने“ चरा संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा पुगेर सचेतनाका कार्यक्रम गर्न जरुरी छ । यसतर्फ नेपाल पंक्षी संघले स्थानीय सरकारसँग समन्वय गरेर जानुपर्छ ।”
कार्यक्रममा नेपाल पंछी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले संस्थाको परिचय, चराको लागि महत्वपूर्ण क्षेत्रहरु ,आगामी कार्यक्रम तथा प्रजातीहरु संरक्षणमा चालिएका विभिन्न कदमका बारेमा जानकारी गराएकी थिइन् । सोही अवसरमा गुल्मीमा चरा संरक्षण तथा जिवीकोपार्जन सहयोग परियोजनाका अधिकृत शम्भु भट्टराई र रेसुङ्गा, मदाने, थाप्ले सत्यवती वन संरक्षण क्षेत्र गुल्मीका परियोजना अधिकृत नवराज पोखरेलले गुल्मीमा पाइने चराहरुको अवस्था, चुनौतीका बारेमा जानकारी गराएका थिए । यस्तै विसिएनका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाइले नाम्खा गाउँपालिका हुम्लामा पाइने कालीकण्ठ सारसको अवस्था, चुनौतीका बारेमा प्रस्तुती राखेका थिए । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेको अध्यक्षता, खैरेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छायाँप्रकाश पंगेनीको स्वागत, छरछरे वनका सल्लाहकार निरञ्जन भुसालको सञ्चालनमा गोष्ठी कार्यक्रम भएको थियो ।


