
इमान सिं राना
पाल्पा (रामपुर) । जिल्लाको रामपुर १० वरभञ्ज्याङ्गबाट गोरु काटेर खाएको आरोपमा ३ जना पुरुष पक्राउ परेका छन् । सोही स्थानका वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षिय प्रेम सुनार, १९ वर्षिय दामोदर सुनार र १९ वर्षिय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरिले बताए ।
गोरु काटेको सुचना आईतबार थाहा पाए संगै इलाका प्रहरी कार्यालय रामपुर बाट खटिएको टोलीले घटनास्थल पुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिमबहादुर कार्कीले बताए । गोरुको केही भाग मासु निकालेर बाँकी खाल्डोमा पुरेको अवस्थामा भेटिएको छ । स्थानीयका अनुसार विर बहादुरले हुँगी बाट एक हल गोरु ल्याएका थिए । जस मध्ये एउटा बेचेको र अर्को गोरु गोठ मै राखेका थिए । घटना बारेमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।