
इमान सिं राना
पाल्पा, पाल्पाका स्थानीय तहका प्रमुखहरुले स्वास्थ्यसंगै वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारी गरेको बताएका छन् । विश्व महामारीको रुप लिएको कोरोना भाईरसका कारण स्वास्थ्य प्राथमिकतामा रहने र बालबालिकाको रोकिएका सिकाई सुचारु गर्नका लागि शिक्षामा पनि स्थानिय तहले ध्यान दिने बताएका हुन् ।
शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पाले आयोजना गरेको संकटमा शिक्षा विषय बहसमा पालिका प्रमुखहरुले विगतका शैक्षिक गतिविधि भन्दा अहिलेको पस्थिति फरक रहेको भन्दै प्रविधि मैत्री र प्राविधिक शिक्षामा जोड दिन लागेको बताएका हुन् । स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटको पूर्व सन्ध्यामा जुम मार्फत भएको अनलाइन बहसमा बोल्दै तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले अहिले विद्यालयहरु तत्काल सञ्चालनको अवस्था नरहेको भन्दै प्रविधिको प्रयोगको खाँचो परेको बताए । उनले उपयुक्त प्रविधि केहो भन्ने बारेमा अहिले बहसको विषय रहेको बताए । शाहीले नगरपालिकाले अभिभावक शिक्षकको अवधारणा ल्याउन लागेको बताए । सिकाई क्रियाकलाप रोकिएमा विद्यार्थीहरुको पढ्ने बानीको हराउन जाने र ड्रप आउट हुने सक्ने चुनौती रहेको भन्दै शाहीले भने, ‘समस्यालाई समाधान गर्न अभिभावक शिक्षकको अवधारणा ल्याउन लागेका छौं ।’ उनले स्थानीय सरकारको प्राथमिकता हिजोको भन्दा परिवर्तन भएको भन्दै स्वास्थ्य संगै शिक्षालाई प्रथामिकतामा राखेर लान लागेको बताए । उनले हिजोको जस्तो शिक्षामा प्रतिस्पर्धा गर्ने वातावरण नभएको भन्दै निजी तथा सार्वजनिक विद्यालयले समन्वय गरेर पायक पर्ने स्थानका बालबालिकालाई सक्दो सहयोग गर्नु आवश्यक रहेको बताए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिडका कारण स्थानिय सरकारको बजेट घट्दो अवस्थामा रहेकाले बजेटको प्राथमिकता परिवर्तन भएको बताए । उनले गत वर्ष ल्याएका छोरी निशुल्क शिक्षा लगाएतका अन्य गतिविधिलाई निरन्तरता दिदै प्राविधिक शिक्षालाई जोड दिएर नगरपालिका अघि बढेको बताए । शिक्षामा नगरपालिकाले गरेका टोल शिक्षा, परियोजना कार्यहरुको बारेमा जानकारी दिदै थापाले वैकल्पिक शिक्षाको लागि नगरले तथ्याङ्क संकलन गरिरहेको बताए । उनले आम्दानीको दायरा घटेकाले भने अनुसार ल्याउन नसकेको भन्दै स्वास्थ्य क्षेत्र, विदेशबाट आउने युवाहरुको लागि रोजगारी सृजना लगाएतका विषयसंगै शिक्षालाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बालबालिकालाई कसरी शिक्षा दिन सकिन्छ भन्ने विषयमा पालिका सचेत रहेको बताए । उनले पालिकामा वैकल्पिक शिक्षा सम्भव नभएकाले विद्यार्थीहरुलाई पाठ्यपुस्तक पु¥याएर शिक्षकहरुको अगुवाईमा टोलटोलमा शिक्षा दिए पनि जोखिम उत्तिकै रहेको बताए । गत वर्षको दिवा खाजा र विद्यार्थी दुर्गटना विमा जस्ता कार्यक्रमलाई निरन्तरता दिएर यस पटक विद्यार्थीलाई टिकाउने, सिकाउने र विकाउने नाराका साथ स्वालम्बी बनाउने नीति अबलम्बन गर्न लागेको बताए । भण्डारीले संस्कार सहितको शिक्षा र प्रविधि मैत्री शिक्षा कार्यक्रम संगै विद्यार्थीहरुसंग करेसाबारी कार्यक्रम अघि सारेको बताए । उनले भने, ‘ शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकता दिएर लाग्न लागेको छ । उत्पादन तर्फ जोड्ने प्रयास गरिरहेको छ । ता कि विदेश बाट फर्किएका युवालाई आत्मनिर्भर बनाउन सकियोस् । शिक्षा र स्वास्थ्यलाई प्रथमिकतामा राखेर अघि बढेका छौं । ’
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले शिक्षामा केही गर्नु पर्छ भनेर कार्ययोजना सहित लागेको अवस्थामा कोरोनाले कार्ययोजना अनुसार अघि बढ्न नसकिएको बताए । उनले पहिला बाँच्न पाउने अधिकारको अधिकार रक्षाका लागि स्वास्थ्य नै प्राथमिकतामा रहेको र त्यस पछि प्रविधि मैत्री शिक्षालाई प्रयोगमा ल्याउन लागेको बताए । अध्यक्ष बस्यालले भने, ‘हिजो देखि नै हामीले प्रविधि मैत्री शिक्षामा जोड दिन सकेको भए, प्रविधिको आधार तय गरेको भए, आज यस्तो अवस्था आउने थिएन । त्यसैले अब प्रविधि मैत्री शिक्षामा ध्यान दिनु आवश्यक छ ।’ बस्यालले फरक प्रसंगमा शिक्षा क्षेत्रको सम्पूर्ण अधिकार स्थानिय तहमा नदिने हो भने जति ठूला कुरा गरे पनि स्थानिय तहले केहीगर्न नसक्ने अवस्था रहेका बताएका थिए । उनले स्वस्थ्यलाई ध्यानमा राखेर शिक्षासंगै विदेशबाट फर्किएका युवालाई रोजगारी सृजनाका लागि पालिकाले बजेट ल्याउन लागेको बताए ।
कार्यक्रममा माथागढी गाउँपालिकाका गाउँ शिक्षा समितिका सदस्य आशेष भट्टराईले पालिकाले गरेका प्रयासहरुका बारेमा जानकारी दिदै अनलाईन अफलाईन शिक्षणमा सुरु गर्न प्रयास गरे पनि सबैको पहुँचमा नहुँदा सम्भव नभएको बताए ।उनले पालिकाले सृजनात्मक काम गर्न गराउनुका साथै पाठ्क्रममा पनि जानु पर्छ भन्ने हिसाबले पुस्तक पुराएर गृहकार्य पुस्तिका तयार पारेको बताए । जसकालागि ३० जना विज्ञ शिक्षक छनौट गरी गृहकार्य तयार गरिएको जानकारी दिए । पूर्वखोला गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक विक्रम बस्नेतले पालिकाले अहिले जहाँ विद्यार्थी छ सोही टोलका शिक्षक खटाएर टोलटोल बाट पाठ्यक्रम संगै संस्कार र सचेतनाका कक्षा सञ्चालन गरेको बताए । बस्नेतले पालिकाले शिक्षक नभएका स्थानमा स्वयमसेवक परिचालन गरी दुरी कायम गरेर सिकाई सुरु गरेको बताए ।
संकटमा शिक्षा बहस अन्तर्गत पाल्पाका अन्य तहका प्रमुखहरु विच पनि केही दिनमा छलफल गरिने शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाका जिल्ला संयोजक शालिकराम पाण्डेले बताए । उनले कोरोनाका कारण शिक्षा क्षेत्र थप्प हुँदा बालबालिकाको सिकाई प्रभावित भैरहेको अवस्थामा एक अर्काले गरेका प्रयास, अनुभव साटासाट गर्न बहस सञ्चालन गरेको बताए । साथै स्थानिय तहको आगामी नीति तथा कार्यक्रममा संकटको अवस्थामालाई मध्यनजर गर्दै उपयुक्त मार्ग तय गर्न सहजताको लागि कार्यक्रम भैरहेको बताए । कार्यक्रमको सहजिकरण पत्रकार माधव अर्यालले गरेका हुन् ।