Shittalpati
रामपुरमा पनि मनाइयो विश्व योग दिवस

इमान सिं राना
पाल्पा (रामपुर), अन्तर्राष्ट्रिय योग दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘परिवारका साथ घरघरमा योग’ भन्ने नाराका साथ आईतबार छैठौं विश्व योग दिवस मनाइएको हो । लकडाउनका बिच भौतिक दुरीलाई ध्यानमा राख्दै जिल्लाको रामपुर ६ को विजयपुरमा योग अभ्यास सहित कार्यक्रम गरी दिवस मनाइएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले व्यक्तिगत र सामाजिक विकासका लागि सकारात्मक सोंचको आवश्यकता रहेको बताए । उनले सकारात्मक सोचको विकासको लागि योग र ध्यान अपरिहार्य रहेको बताए । थापाले आधुनिकता संगैको विलासी जीवनले मानव स्वास्थ्यमा पारेको नकारात्मक असरको न्यूनिकरण योग भएको बताए । थापाले विगतमा कडा परिश्रमसँगै आर्गानिक भोजनले योगको खासै महत्व नरहे पनि अहिलेको आधुनिक व्यस्त दैनिकीमा स्वस्थ्य रहनका लागि योग र ध्यान अनिवार्य आवश्यताको रुपमा स्थापित भएको बताए । थापाले नगरपलिकाले केही वर्षदेखि योगको लागि पूर्वाधार निर्माणमा ध्यान दिएको बताउँदै अहिलेको जटिल परिस्थितिका बिच पनि योग र ध्यानका बारेमा जानकारी दिन सक्दो प्रयास गर्ने बताए । रामपुर नगरपालिका ६ का वडाअध्यक्ष हुमनाथ न्यौपानेले विश्वमा फैलिएको कोरोना महामारीमको अवस्थामा आत्मविश्वास बढाउन आवश्यक रहेको भन्दै त्यसको लागि योग पनि एक भएको बताए । उनले नियमित योग अभ्यासका लागि वडाले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघ रामपुरका वाणिज्य उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा र नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल लगायतले मन र शरीरको मिलनबाट नै उर्जा पैदा हुने भन्दै यसलाई जोड्ने काम पनि योगले गर्ने बताएका थिए । उनीहरुले योगलाई विद्यालय तथा टोल–टोलबाट पनि सिकाउने वातावरण तयार गर्नु आवश्यक रहेको बताए । रामपुर नगरपालिका आयुर्वेद शाखाका संयोजक चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम रामपुर योग समितिका सदस्य दोवराज तिवारीको स्वागत र रामपुर योग समितिका सचिव सुदिप गैरैको सञ्चालनमा भएको हो । रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजना र रामपुर योग समितिको सह–आयोजनामा भएको कार्यक्रममा योगशाधकहरुको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update