गुल्मी, तिहारमा समूह बनाएर खेलिने देउसी–भैलोबाट सङ्कलित रकमले पिकनिक, भ्रमण जाने वा कतिपयले रकम बाँडफाँट गर्ने चलन छ । तर गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडा देउसी–भैलो समूहले भने भैलोबाट संकलित रकम सामाजिक सेवामा खर्चेको छ । समूहले संकलित रकमबाट मृगौला पिडित इस्मा– २ ढाडा निवासी सन्तबहादुर तङ्गनामीलाई आर्थिक सहयोग, समाजमा हुने कार्यक्रममा प्रयोगका लागि एक सेट साउण्ड सिस्टममा खर्चेको हो ।

मृगौला फेल भई जीवन र मृत्युसँग लडिरहेका तङ्गनामीको जीवन रक्षार्थका लागि थोरै भए पनि सहयोग पुगोस् भनेर संकलित रकमको १५ प्रतिशत रकम सहयोग गरिएको समूहका संयोजक विचन्द्र रायमाझीले बताए । समूहले सो सहयोग रकम सन्तबहादुरको श्रीमति गंगा तङ्गनामीको खातामा पठाइदिएको छ । तङ्गनामीको हाल बुटवलमा उपचार भइरहेको छ ।
पछिल्लो समय मौलिक संस्कृति लोप हुँदै गएको र सामाजिक सेवामा समेत कमी हुँदै गएको बेला गाउँमा भएका साना–साना भाइबहिनीहरु जम्मा भई समूह बनाएर देउसी भैलोमार्फत संस्कृति संरक्षण र सामाजिक सेवामा लागिएको समूहका संयोजक रायमाझीले बताए । उनले भने “हामीले गरेको सहयोग मृगौला पिडित तङ्गनामीको लागि सानो हो तर यसले अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने सन्देश समाजमा प्रवाह गर्नु महत्वपूर्ण हो ।” रायमाझीले तङ्गनामीको उपचारका लागि ४०/५० लाख लाग्ने अस्पतालले भनेको र घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भइरहेको भन्दै सबैसँग थोरै भए पनि आर्थिक सहयोग गर्न आग्रह समेत गरेका छन् । उनका अनुसार देउसी– भलौंबाट संकलित रकम मध्ये उपचारमा सहयोग,केही साउण्डसिस्टम र बाँकी रहेको रकम वनभोजमा खर्चिएको हो । रायमाझीले आगामी दिनमा पनि समूहले यस्तै रचनात्मक कार्य गर्दै जाने बताए । उनले भने “ अहिले गाउँमा युवाहरु छैनन्, तर हामी साना–साना भाइबहिनीहरु मिलेर सामाजिक कार्यमा अग्रसर हुँदै आएका छौं । यस्तो कार्यलाई निरन्तरता दिदै जाने छौं ।”


