
स्याङ्जा, धार्मिक र्तीथस्थल राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरु आफन्तको न्यास्रोमा दिन बिताउन विवश भएका छन् । गल्याङ नगरपालिका–१ राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका उनीहरु कोरोना संक्रमणका कारण बन्दाबन्दी हुँदा लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाउँदा नरमाइलो लागेको बताएका छन् । वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिक पहिले आश्रमको वरिपरी घुमघाम गरेर दिन बिताउने गरे पनि अहिले कोरोना संक्रमण हुनसक्ने भन्दै बाहिर हिँडडुल गर्न पाएका छैनन् भने बाहिरी मानिसलाई आश्रममा प्रवेश गर्न रोक लगाइएको छ । वृद्धाश्रममा बस्दै आएका ८० वर्षीय बमबहादुर अधिकारीले लामो समयदेखि आश्रममा बस्दै आए पनि अहिले जति न्यास्रो अरु बेला नलागेको बताए । उनले भने, ‘राम्दीमा बस्दै आएको धेरै समय भयो, अरु बेलाभन्दा अहिले बढी नै आफन्तको याद आएको छ, पहिला बेलाबेलामा आफन्तसँग भेटघाट गर्न पाइन्थ्यो अहिले कोरोनाको डरले कोही पनि आउँदैनन्, आफू हिँड्न सक्दिनँ ।’
यसैगरी सोही आश्रममा बस्दै आएकी पाल्पा पूर्वखोलाकी ९५ वर्षीया ललिता देवकोटाको पनि त्यस्तै भनाइ छ । कोरोनाको हल्ला हुनुभन्दा पहिला समय मिलाएर बेलाबेलामा आफन्त भेट्न आउने गरे पनि अहिले आफन्तसँग भेट नभएको धेरै समय भएको उनले बताईन । ‘आफन्तसँग भेट भएर कुरा गर्न पाउँदा मनै खुशी हुन्छ, खै यो कोरोनाको हल्लाले सबै बाहिर नजानु भन्छन्’, देवकोटाले भनिन् । आश्रमम बस्दै आएका अन्य ज्येष्ठ नागरिक पनि आफन्तसँगको भेटको पर्खाइमा छन् । शिवपार्वती वृद्धाश्रमका प्रमुख सुनिल श्रेष्ठले १८ ज्येष्ठ नागरिक आश्रममा बस्दै आएको जानकारी दिए । आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणको जोखिम नहोस् भनेर बाहिर निस्किन नदिइएको र कोही सहयोग गर्न चाहने दाताका लागि बाहिरबाटै सहयोग गर्न सक्ने व्यवस्था मिलाइएकाले आश्रमभित्र प्रवेशमा बाहिरबाट आउनेलाई रोक लगाइएको बताए । बेलाबेलामा खाद्यान्न लगायतका वस्तु संघसंस्था एवं विभिन्न व्याक्तिले सहयोग गर्दै आएको र सोही सहयोगबाट आश्रममा व्यवस्थापन गर्दै आएको श्रेष्ठले बताए । -रासस