पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले कात्तिक १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । असोज १३ गते बसेको गाउँ कार्यपालिकाको बैंठकले सत्यवती मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सो दिन गाउँपालिका मातहतका सरकारी कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्था (आकस्मिक बाहेक ) तथा अन्य सार्वजनिक निकायहरुमा स्थानीय सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । आइतबार गाउँपालिकाले एक सूचना नै प्रकाशित गरी विदा दिइएको जानकारी गराएको छ ।
तिनाउ गाउँपालिका–४ सत्यवतीमा रहेको सत्यवती मन्दिरमा हरेक वर्ष कात्तिक पूर्णिमासम्म भक्तजनले चिच्याएरै वर माग्ने गर्दछन् । यहाँ पुुग्ने जो कोहीले सत्यवती बज्यैसँग चिच्याएरै वर माग्ने चलन छ । सत्यवती बज्यैदेवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको हो । ‘हे सत्यवती बज्यै मैले राम्रो श्रीमान्श्री/मती पाऊँ, छोरा पाएमा फेरि तिम्रै शरणमा आउनेछु, मैले यसै वर्षभित्र सरकारी जागिर पाऊँ, पढाइमा सफल हुन पाऊँ, मनले चिताएका सबै कुरा पुगोस्, सबै कुराले भरिपूर्ण हुन पाऊँ आदि आदि ।’ यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिंगो गाडेर पूजा गर्ने चलन छ । सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै वर माग्नुपर्छ । स्थानीय संस्कृतिअनुसार चिच्याएर वर जसले माग्छ, उसलाई पूरा हुने विश्वासका साथ चिच्याउने गर्छन् । त्यसपछि तालको छेउमा बाँसको लिंगोे गाडेर पूजा गरिन्छ ।


