गुल्मी, गुल्मीमा छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको मालिका गाउँपालिका–३ ह्वाङ्दी म्यालका २३ वर्षीय भोट बहादुर बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेका हुन् ।
उनले हसिया र मुग्रा प्रहारबाट बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए । उनका अनुसार कुटपिटबाट आमा ४८ वर्षीया दिलमाया विक भने घाइते भएकी छन् । उनलाई उपचारका लागि गुल्मी अस्पताल हुँदै पाल्पा पठाइएकोमा हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यो घटना शनिबार साँझ घटेको थियो ।
हत्यामा सम्लग्न छोरालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।


