Shittalpati
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु

पाल्पा, दसैं मुखैमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र अन्य कारणले ६ जनाको ज्यान गएको हो ।

सवारी दुर्घटनाबाट मात्र तीन जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित सडकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।  भे.१ त ७७८४ नम्बरको ट्याक्टरले भे.१२ प ९४८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५२ वर्षीय कर्णबहादुर थापाको घट्नास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा अर्का एक जनाको मृत्यु भएको छ ।

म.प्र.०३–००२ ख ४०६७ नम्बरको ट्रकले बा.८६ प ७४५७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भएकी २६ वर्षीया सिता तिमिल्सनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको  केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टी दोवाटोस्थित सडकमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा.प्र –०१–०३० च ६५०१ नम्बरको इभि भ्यानको ठक्करबाट सोही नगरपालिका–१० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछानेको बुधबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–६ धामपुर बस्ने ३३ वर्षीय झलक रेग्मीको करेन्ट लागेर  मृत्यु भएको हो । घर नजिकै रहेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सडक छेउमा एक जनाको शव फेला परेको छ । दाङको बबई गाउँपालिका–२ भालुडाँडा बस्ने ५० वर्षीय मनसराम विक सोही गाउँपालिका–३ रातामाटास्थित सडक छेउमा मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङकै, राप्ती गाउँपालिका–२ रामनगर टोल बस्ने ४५ वर्षीय हुकुमराज नेपाली सोही ठाउँस्थित नहरमा मृत अवस्थामा फेला परेका छन् । सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update