
पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जिल्लाको शान्ति शुरक्षा कायम गर्न सबै पक्षसँग समन्वय, सहकार्य गरेर काम गर्ने बताएका छन् । काठमाडौंबाट सरुवा भई पाल्पा आएका उनले मंगलबार पाल्पाली पत्रकारहरुसँगको अन्तक्र्रियामा यस्तो बताएका हुन् ।
उनले भने “म यहाँ आएपछि पाल्पाको वस्तुस्थिती बारे जानकारी लिएको छु, देशको पछिल्लो अवस्थालाई मध्य नजर गरी नागरिकहरुको शान्ति सुरक्षा कायम गर्न पूर्ण प्रतिवद्ध भएर लाग्ने छु ।” अपरिचित व्यक्तिहरु देखेमा, सोधपुछ गर्ने शंका लागेमा नजिकको प्रहरीमा खबर गर्न प्रहरी उपरिक्षक थारुले आग्रह गरे । उनले भने “अहिले कारागारमा करिव आधा कैदी बन्दीहरु फरार छन्, चाडवाड शुरु भएको छ, हरेका स्थानमा अपरिचित व्यक्तिहरु देखेमा, सोधपुछ गर्ने शंका लागेमा नजिकको प्रहरीमा खबर गर्नु होला । हामिले नागरिकको जिउधनको सुरक्षाको लागि शंकास्पद व्यक्तिहरु माथि निगरानी तथा सोधपुछ अभियान सञ्चालन गरेका छौ, यो अभियान पाल्पालीहरुकै शान्ती सुरक्षा कायम गर्नको लागि थालिएको हो ।” उनले नक्कली, प्रहरी, सेना बनेर चोरी, लुटपाट गर्ने सम्मका गतिविधी पनि यदाकदा हुने गरेको भन्दै सर्वसाधारणले पनि परिचय तथा कागजात चेक गरेर मात्र कामको लागि अनुमती दिन प्रहरी उपरिक्षक थारुले सर्वसाधारणमा अनुरोध गरेका छन् । सर्वसाधारणको गुनासोका आधारमा प्रहरी आचरण विपरित कार्य गर्ने विभिन्न चौकीका प्रहरीहरुलाई जिल्ला झिकाएर अनुशासनको कारवाही गरेको बताउदै प्रहरी उपरिक्षक थारुले कहि कतैबाट प्रहरीले प्रहरी आचरण विपरित गतिविधी गरेमा सिधै ९८५७०९५५५५ मा सम्पर्क गर्न आग्रह समेत गरे । उनले चाडपर्वको अवसरमा कालोबजारी, मुल्यबृद्धि गर्ने पक्षहरुको सूक्षम तरिकाबाट निगरानी बढाएको बताए । प्रहरीसँग पर्याप्त श्रोत साधन नहँुदा ग्रामीण भेगका चौकीहरुलाई काम गर्न अफ्ठ्यारो परेकाले स्थानीय सरकारसँग इन्धन मागेर जनताको कामलाई छिटो छरितो बनाउने गरेको प्रहरी उपरिक्ष थारुले बताए । प्रहरीको श्रोत साधन अभावको विषयमा केन्द्रमा निरन्तर छलफल र कुराकानी हुने गरे पनि समस्या समाधान नभएको उनले बताए ।
लामो समयदेखी रहस्यमै रहेको किशोर न्यौपने अपहरण काण्डको अनुसन्धानमा आफु लाग्ने प्रहरी उपरिक्षक थारुले बताए । चाडपर्वको समयमा चेकजाँच बढाउने र राजश्व काट्दा सबैले देख्ने स्थानमा राख्न पहल गर्ने उनको भनाईछ । जिल्ला भित्रिने र बाहिरीने नाकामा चेकजाँच बढाउने, विभिन्न किसिमका सूचना संकलनलाई चुस्त दुस्त बनाउने प्रहरी उपरिक्ष थारुले जोड दिए । कार्यक्रममा पत्रकारहरुले जिल्लाको ट्राफिक समस्या, बस्तु स्थिति, शान्ती सुरक्षा लगायतका विषयमा सुझाव दिएका थिए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक होमबहादुर चौधरी, प्रहरी निरिक्षक द्धय सन्दिप बेलबासे र कमल प्रधानले जिल्लाको शान्ति सुरक्षा अमन चयनको लागि कार्यालय प्रमुखको योजनालाई सफल बनाउने बताए ।