
पाल्पा, जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि मंगलबारदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् ।ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, कपिलवस्तु, रुपन्देही, महोत्तरी, तहुँ, पर्सा, मकवानपुर लगायतका जिल्ला कारागारबाट धमाधम कैदीहरू बाहिरिएका हुन् ।
आन्दोलन चर्किएको मौकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट निकालेसँगै अन्य कारागारहरुबाट समेत कैदीहरु भाग्न थालेका हुन । रवि छुटेको यही नजिर देखाउँदै अहिले देशभरका कारागारहरूबाट कैदीबन्दीहरू धमाधम छुट्ने क्रम जारी रहेको छ । रवि छुटेको केही समयमै त्यही नख्खु कारागारबाट सबै कैदीबन्दी भागेका छन् । कारागारबाट निस्केपछि कैदीहरूले कारागार नै जलाइदिए । कैलाली कारागार पनि पूरै खाली छ । महोत्तरीको जलेश्वर काराकारबाट एकजना बाहेक सबै कैदी भागेका छन् । कारागारमा रहेका ५७६ मध्ये ५७५ कैदी फरार भएका हुन् । जिल्ला कारागार तनहुँबाट कैदी भागेका छन् । जेनजी प्रदर्शनकारीहरूको सहयोगमा कैदीबन्दीहरुले कारागार तोडेर भागेका हुन् । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन् । रौतहटको गौर कारागारबाट २३३ कैदि भागेका छ्न् भने पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको कारागारबाट भाग्ने प्रयास जारी राखेका छन् ।
मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए । कपिलवस्तु कारागारबाट ४ सय ३१ जना कैदीबन्दीहरु कारागार तोडेर भागेका छन् । कास्की कारागारबाट पनि धेरै कैदीबन्दी भागेका छन् । झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागारबाट पनि कैदीबन्दी भागेका छन् । म्याग्दी कारागारमा रहेका ८८ मध्ये ७२ जना कैदीबन्दी भागेका छन् भने बिरामी र हिंड्न नसक्ने १२ जना कारागारमै छन् । सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला कारागारमा रहेका कैदीबन्दी भागेका छन् । कैलाली कारागारमा मात्रै कम्तीमा पनि ७ सय कैदी थिए । यो प्रदेशका ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताइएको छ । कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीबन्दीमध्ये २२ जनाबाहेक सबैलाई प्रदर्शनकारीले निकालेर आफैूसँगै लगेको बताइएको छ । विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा चुनौती थप बढेको छ । अझ कारागारबाट निस्केका केही कैदीहरूको निशानामा अदालतहरू परेका छन् । आफूविरुद्ध मुद्दाका प्रमाणहरू नष्ट गर्ने उद्देश्यले उनीहरूले अदालत, सरकारी वकिल कार्यालय लक्षित तोडफोड र आगजनी गर्ने गरेका छन् । डिल्लीबजार कारागारसहित धेरै कारागारमा आगजनी भएको छ । कैदीबन्दीहरूले आफूहरू पनि निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका छन् ।
पक्राउ पर्दै कैदी
कारागारबाट भागेका कैदीहरुलाई नेपाली सेनाको सहयोगमा प्रहरीले धमाधम नियन्त्रणमा लिएर कारागार पठाउन थालेको छ । डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ जना कैदीबन्दी नियन्त्रणमा आएका छन् । त्यहाँबाट भागेका ८५ कैदीवन्दी मध्ये ३३ जनाले नेपाली सेनाको सहयोगमा प्रहरीले पुनः समातेको हो । भागेका कैदीहरुलाइ खोज्ने क्रम जारी रहेको छ । डिल्लीबजारस्थित कारागारबाट भाग्न खोज्ने कैदीहरूलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको छ । आफूहरू पनि निस्किन पाउनुपर्ने मागसहित कैदीबन्दीहरूले प्रदर्शन गरिरहेका छन् । जबरबस्ती बाहिरिन खोजेपछि प्रहरीले उनीहरूलाई घेरेर राखेको थियो । तैपनि केही कैदीबन्दीहरू भाग्ने प्रयास गरेपछि सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ । त्यहाँबाट करिब ३ हजार ३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३ हजार ८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् ।